काठमाण्डौ - भाजुपुखू अर्थात भाज्या पोखरी सर्वसाधारणका लागि खुला भएको छ । शिवरात्रिको अवसर पारेर हिजो पुननिर्मित पोखरी र जलेश्वर मन्दिर उद्घाटनसँगै सर्वसाधरणका लागि खुल्ला गरिएको हो ।भक्तपुर नगरपालिकाको कुल एक करोड ८७ लाख ३५ हजार ६ सय ३४ रुपैयाँको लागतमा पुनःनिर्माण सम्पन्न भएको पोखरी एवम् मन्दिरको उद्घाटन हिजो नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गर्नुभएको हो ।
उद्घाटनका क्रममा अध्यक्ष बिजुक्छेले भक्तपुरको भाजु पखू मानव सभ्यताको एक महत्वपूर्ण उपलब्धि भएको भन्दै लोपोन्मुख अवस्थामा पुगेको राष्ट्रिय धरोहरलाई पुनःजीवन दिने काममा पुरातत्व विभाग, प्रज्ञा–प्रतिष्ठान र विश्वविद्यालयहरु अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका अन्य सम्पदाको पुनःनिर्माण जस्तै भाजु पुखू पुनःनिर्माणका क्रममा पुरातत्वविद्, संस्कृतिविद्, इतिहासविद्, वास्तुकलाविद्लगायत सरोकारवालाहरूको सल्लाह र सुझावअनुसार अगाडि बढाएको बताउनुभयो । नगरपालिकाले गठन गरेको ६ सदस्यीय अध्ययन टोलीको प्रतिवेदनमा पोखरीको बीचमा ग्रन्थकुट अर्थात् शिखर शैलीको मन्दिर भएको तथ्य समेटिएपछि त्यही अनुसार मन्दिर निर्माण भएको हो । पोखरी उत्खनन क्रममा भेटिएका मूर्ति र प्राप्त सामग्रीका आधारमा त्यहाँ जलेश्वर मन्दिर स्थापना गरिएको छ । पोखरी र मन्दिरलाई परम्परागत र मौलिक शैलीमा नै निर्माण गरिएको छ । विसं २०५८ शिव रात्रिको दिन पोखरीको पुनःनिर्माण शुरु गरिएको थियो । इतिहासविद् पुरूषोत्तमलोचन श्रेष्ठका अनुसार भाजुपुखू करिब १२ औं शताब्दी पुरानो पोखरी हो । पोखरीको पुरातात्विक अवशेषहरूबाट मन्दिरबारेको जानकारी थाहा भएको हो ।
प्रतिक्रिया