काठमाडौं - गत वर्षको तुलनामा यस बर्ष वसन्त ऋतृमा हिमालमा आरोहण गर्नेहरुको संख्यामा गिरावट आएको छ । वसन्त ऋतुका लागि आरोहण अनुमति लिन बाँकी रहे पनि आरोहण कम्पनीमा आएका बुकिङहरुको आधारमा आरोहण संख्या घट्ने सुनिश्चित देखिएको छ ।
हरेक बर्ष वसन्त ऋतृ सुरु भएसँगै नेपालको हिमाली क्षेत्रमा विदेशी पर्यटकहरुको चहलपहल सुरु हुन्छ । विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये आठ वटा नेपालमा छन् । गत वर्ष वसन्त ऋतुमा सगरमाथा चढ्नेको संख्यामा सन्तोषजनक वृद्धि थियो । यस बर्ष पनि सगरमाथा चढ्नका लागि बुकिङ सन्तोषजनक रहे पनि अन्यमा भने गिरावट भएको पर्वतारोहण संचालक संघका महासचिव ऋषि भण्डारीले जानकारी दिएका छन्। उनका अनुसार बुकिङ गर्ने सबैलाई अनुमति लिन्छन् वा पाउँछन् भन्ने हुँदैन् । तर गत वर्षको तुलनामा यस वसन्त ऋतुका लागि बुकिङ कम आएको छ । बुकिङको अनुपात हेर्दा अनुमति लिनेको संख्या सगरमाथाबाहेक अरु हिमालमा घट्ने निश्चित छ । अन्नपूर्णमा करिब २६ जना आरोहीले मात्रै बुकिङ गरेका छन् । जबकी गत बर्ष वसन्त ऋतुका लागि करिब ५० जनाले बुकिङ गरेका थिए । त्यस्तै, धौलागिरीमा गत बर्ष ३८ जनाले बुकिङ गरेकोमा अहिले २०–२२ जना मात्र छन् । कञ्चनजङ्घामा गत बर्ष ४० जनाले बुकिङ गरेकोमा अहिले २२ जना छन् । मकालुमा थोरै विदेशी आरोहीले बुकिङ गरेका छन् ।
सरकारले हवाई भाडादेखि होटल तथा पर्यटन व्यवसायमा भ्याट र लक्जरी कर लगाएका कारण हिमाल आरोहणका लागि बुकिङ गर्ने विदेशी पर्यटकहरुको संख्या कम भएको भण्डारीको भनाई छ । उनले भने, ‘पहिला चाहिँ रोयाल्टीमा भ्याट लाग्दैन थियो । अहिले रोयल्टीसहित भ्याट लगाउने काम भएको छ । संख्या घट्नुको मुख्य कारण त्यही हो । हेलिकप्टरमा लाग्ने मूल्य बढेको छ । पहिला कार्गो हेलिमा लानुपर्यो सामान १० लाख खर्चमा हुन्थ्यो भने अहिले १६ लाख खर्च लाग्छ ।’यसरी भ्याटलगायतका कर जोडिएपछि पर्यटन व्यवसायी र विदेशी पर्यटक दुवैलाई गाह्रो भएको भण्डारीले बताए । उनले थपे, ‘हामीसँग लगभग पाँच सय जति आरोही हुन्थ्यो । यदि सरकारले एकैचोटी विभिन्न शीर्षकमा कर नबढाइदिएकोले हामीले करिब एक सय जना आरोही गुमाएका छौं । यसले गर्दा राज्यलाई रोयल्टी घाटा लागेको छ । पर्यटक आउँदा धेरै खर्च गर्थे । कर तिर्थे । हामी व्यवसायले आम्दानीका आधारमा आयकरसहित करिव ४० प्रतिशत कर तिर्छ । सबै कुरालाई सरकारको नीतिले असर परेको छ । फेरि सरकार देशमा पर्यटक बढाउने, आर्थिक विकास गर्ने भन्न चाहिँ छोड्दैन् ।’
गत वर्ष सगरमाथा आरोहण गर्ने आरोहीको संख्या र रोयल्टी संकलन हालसम्मकै उच्च रहेको पर्यटन विभागले जनाएको थियो । कोभिड–१९ महामारीपछि चीनबाट सगरमाथालगायत अन्यहरुको आरोहण बन्द भएपछि नेपालबाट सगरमाथाको आरोहण गर्ने आरोहीहरुको संख्यामा वृद्धि भएको थियो । तर आगामी वसन्त ऋतृबाट चीन तर्फबाट आरोहण खुल्ला गरेकाले पनि असर परेको छ । तर नेपालले चीनतर्फबाट आरोहण गर्नेहरुलाई आकर्षित गर्न असफल भएको छ । अर्को एक एक्सपेडिसन कम्पनीका सञ्चालकका अनुसार नेपालबाट सगरमाथाको आरोहण गर्दा खुम्बु आइफलको डर छ । त्यही खतराको डरले यस पटक हिमालमा गाइड गर्नेहरु पनि नेपालबाट भन्दा चीन तर्फबाट आरोहण गर्न इक्छुक बनेका हुन् । उनले चीनतर्फको सगरमाथाको आधार शिविरसम्मै ट्रक र गाडीहरु पुग्ने बताए । ती व्यवसायीका अनुसार त्यो आधार शिवर नेपालको भन्दा आधुनिक छ । छ हजार चार सयदेखि छ हजार पाँच सय मिटरको उचाइमा यो रहेको छ । त्यतिको उचाइसम्म याकको सहारामा सामान पुर्याउन सकिन्छ । अधिकांश गाइडहरु नेपालबाट भन्दा चीनबाट आरोहण गराउन लागिपर्छन् । नेपालबाट सगरमाथा आरोहण गर्न सहजीकरणका लागि स्याङ्बोचेबाट हेलिकप्टरको प्रयोग गर्न नमिल्ने निर्णय सच्याउनुपर्ने व्यवसायीको माग छ । सगरमाथा आरोहण गर्दा दुघटना भइहाले उद्धार गर्न सहज छ । तर चीनमा हेलिकप्टरको प्रयोग गर्न रोक छ । चीनमा लजिस्टिक्स सामान लैजान सजिलो भएकोले चीनतर्फ आरोहण गर्ने आरोहीहरुको संख्या बढी देखिएको ती व्यवसायीको भनाई रहेको छ ।
प्रतिक्रिया