मनाङमा पर्यटक बढ्दै

१ महिना अगाडि


काठमाडौँ  -  चक्रिय अन्नपूर्ण पदमार्गमा यति बेला पर्यटकको आगमन हुन थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा अहिले पर्यटकीय याम सुुरु भएकाले पर्यटकको चहलपहल हुन थालेको हो । चिसो बढेसँगै करिब तीन महिनादेखि सुनसान रहेको यस पदमार्गमा यति बेला दैनिक पाँच दर्जनको हाराहारीमा विदेशी पर्यटक आउने गरेको मनाङको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङले बताएका छन् ।

 

उनले विगतमा दैनिक दुई दर्जनभन्दा बढीसम्म पर्यटक आउने गरेकामा अब अब विस्तारै बढ्दै जाने  अपेक्षा रहेको बताएका छन्  । चिसो मौसमका कारण पर्यटक नआउँदा सुनसान बन्दै गएको यस पदमार्गमा पर्यटक आउन थालेसँगै पर्यटन व्यवसाय चल्न थालेको उनको भनाइ थियो  ।चिसो छल्नका लागि मनाङवासी बाहिरी जिल्ला गए पनि उनीहरुसमेत विस्तारै आउने क्रम जारी छ । आलु रोप्न तथा स्याउबारी गोडमेल गर्न उनीहरु गाउँ फर्कन थालेका छन् ।नासोँ गाउँपालिकाका विभिन्न स्थानमा सामूहिक खेती गरिएको छ । नासोँ गाउँपालिका–५ धारापानीका होटल व्यवसायी थुतेन लामाले पर्यटकको आगमन ठप्प भएका बेला आफूहरु फुर्सदिलो बने पनि यति बेला पर्यटक आगमन हुन थालेपछि व्यस्त भएको बताएकाछन्  । वडाध्यक्ष समेत रहेका लामाले पर्यटकको आगमन हुँदा धेरै थोरै भए पनि आम्दानी हुन थालेको बताएका छन्  ।

 

विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज तथा प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउँछन् । यहाँ आउने पर्यटक विशेष गरेर थोराङपास, लार्केपास, र काङ्लापासका साथै विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल अवलोकनका लागि आउने गरेको पाइन्छ ।यस क्षेत्रमा पर्ने अग्लाअग्ला हिमशृंखला अन्नपूर्ण दोस्रो, तेस्रो र चौथो लगायत गंगापूर्ण, जुलु पिक, पिसाङ पिक, नीलगिरि र तिलिचो पिकजस्ता हिमाल नजिकैबाट अवलोकन गर्न पर्यटक आउने गरेको मनाङवासीले बताएका छन्  । पाँच हजार ४१६ मिटरको उचाइमा रहेको थोराङ भञ्ज्याङलाई पर्यटकहरूले पास गर्ने गर्दछन् । पदयात्राका सौखिनका पारखीका लागि यस पदमार्ग महत्त्वपूर्ण मानिन्छ । विगतमा १८ दिनसम्म यात्रा हुने यस पदमार्गको यात्रा भने सडक विस्तारले छोटिएसँगै व्यवसायमा समेत असर परे पनि पर्यटकको आगमनले व्यवसाय चल्दा आम्दानीको बाटो भइरहेको पर्यटन व्यवसायीहरूले बताएका छन् ।


 

१ महिना अगाडि

प्रतिक्रिया