किसान बगरखेतीमा आकर्षित हुँदै

बुधबार, ३० फागुन २०८०, १३ : ३४

काठमाडौँ - बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसान बगरखेतीतर्फ आकर्षित भएका छन् । राप्ती नदीको डुबान र कटानबाट प्रभावित राप्ती सोनारी–५ बिनौना ललहीवासीले सामूहिक बगरखेती गर्दै आएका हुन् । उनीहरू बगरखेती गरेर आर्थिक उपार्जनमा जोडिएका छन् । 

 

विगतमा निर्वाहमुखी खेती गर्दै आए पनि अहिले व्यावसायिक रूपमै बगरखेती गर्न आफूहरू लागिपरेको ललही बगरखेती समूहका अध्यक्ष टेकराज थारूले बताएका छन् । “पहिला थोरै थोरै खेती गर्ने गरेका थियौँ, अहिले सामूहिक र व्यक्तिगतरूपमा बगरखेती गर्न लागिपरेका छौँ”, उनले भने, “अहिले तर्बुज, खर्बुज र लहरे तरकारी लौका, घिरौला काँक्रालगायतका तरकारी रोपेका छौँ ।”राप्ती सोनारी–५ बिनौनास्थित ललहीवासीले सामूहिक बगरखेती गर्न थारूको अध्यक्षतामा १६ सदस्यीय ललही बगरखेती समूह गठन गरेका छन् । सामूहिक रूपमा खेती गर्दा सबै कुरामा सहज र रमाइलो हुने गरेको समूहकी सचिव सीता चौधरीले बताइन् । समूह गठन भएपछि गाउँका सबैजसो दाजुभाइ तथा दिदीबहिनीले खेर गइरहेको बगरमा खेती गर्नेतर्फ चासो दिन थालेको उनको भनाइ छ ।

 

समूहका अध्यक्ष थारुले पहिलादेखि नै व्यावसायिकरूपमा बगरमा तर्बुजलगायत तरकारीखेती फलाउँदै आएका छन् । उनले गाउँमा उत्पादन भएको तरकारी उचित मूल्यमा गाउँमै खपत हुने गरेको बताए । राप्ती सोनारी –१ जरुवा निवासी मानबहादुर रानामगरले पनि बगरखेती गर्दै आएका छन् । नदीले कटान गरेको बगरमा तरकारी फल्न थालेपछि अहिले गाउँका अन्य साथी भाइसमेत बगरखेतीतर्फ आकर्षित भएको उनले बताएका छन्  ।  राप्ती सोनारी गाउँपालिकाले किसानलाई बगरखेतीतर्फ आकर्षित गर्न अनुदान कार्यक्रम ल्याएको छ । बगरखेती गर्ने किसानलाई रु पाँच लाख सम्मको अनुदान दिने कार्यक्रम रहेको गाउँपालिका कृषि शाखा प्रमुख चन्दाकुमारी शाहीले बताए । यस वर्ष राप्ती सोनारी–५ बिनौना स्थित ललही बगरखेती समूह र वडा नं १ का बगरखेती किसान मानबहादर राना मगरलाई रु पाँच लाखबराबरको अनुदानको सम्झौता गरिएको उनले जानकारी दिएका छन् । बगरखेतीतर्फ किसानलाई आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताएका छन्  । उनले बगरखेती किसानले उत्पादन गरेको कृषि उपज बजारीकरण गर्न गाउँपालिकाले आवश्यक पहल गर्ने उल्लेख गरे ।      

बुधबार, ३० फागुन २०८०, १३ : ३४

प्रतिक्रिया