बिर्तामोडमा अलैँची ' ग्रेडिङ मेसिनको ' परीक्षण

बुधबार, ३० फागुन २०८०, १७ : ३६

काठमाडौँ - बिर्तामोडमा अलैँची ग्रेडिङ मेसिनको परीक्षण गरिएको छ । स्थानीयस्तरमा निर्माण गरिएको उक्त मेसिनको अलैँची व्यवसायी महासङ्घ कार्यालय परिसरमा आज परीक्षण गरिएको हो । स्वीस सरकारद्वार सञ्चालित सहज परियोजनाको सहयोगमा झापाको कमल गाउँपालिका स्थित कामक्ष एग्रो इञ्जिनियरिङले उक्त मेसिन निर्माण गरेका  हुन  ।

 

एग्रोका सञ्चालक कृष्णप्रसाद अधिकारीले स्थानीयस्तरमा पाइने सामग्रीको प्रयोग गरेर मेसिन निर्माण गरिएको बताएका छन् । मेसिन परीक्षणका क्रममा रहेकाले अझै परिमार्जित गरिने उनले बताएका छन् । उत्पादनलाई प्रविधि सँग जोड्नका लागि मेसिन निर्माणमा सहयोग गरिएको सहज कार्यक्रमका प्रतिक देवकोटाले बताएका छन् । “हामीले किसान र व्यवसायी दुवैलाई लक्षित गरेर सस्तोमा मेसिन बनाउने काम गरेका हौँ”, उनले भने, “यसले लागत घटाउनुका साथै काम गर्न सहज हुने विश्वास छ ।”मेसिनको परीक्षण सफल भएपछि कम लागतमा अलैँची ग्रेडिङको काम हुने अलैँची व्यवसायी महासङ्घका अध्यक्ष निर्मल भट्टराईले बताएका छन् । “अहिले हाते जालीबाट अलैँची ग्रेडिङको काम भइरहेको छ”, उनले भने, “मेसिनले लागत र समय बचत हुने विश्वास छ ।”केही व्यवसायीले भारतबाट मेसिन खरिद गरेर ग्रेडिङ गरिरहेका भट्टराईले बताएका छन् । “भारतबाट ल्याइने मेसिन महँगो पर्दछ । एउटाको करिब रू १० लाख पर्छ”, उनले भने “अहिले परीक्षण गरिएको मेसिन रू ५० हजारमा  पाइने भनिएको छ । यसले किसान र व्यवसायलाई सहज हुनेछ ।”
 

बुधबार, ३० फागुन २०८०, १७ : ३६

प्रतिक्रिया