एभरेष्ट बैंकको  नाफा एक अर्ब ९९ करोड रुपैयाँ

विहीबार, ०१ चैत्र २०८०, ०८ : ४६

काठमाडौँ- एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ७ महिनामा एक अर्ब ९९ करोड रुपैयाँ नाफा कमाएको छ ।  बैंकले केन्द्रीय बैंकमा बुझाएको तथ्यांकअनुसार यो अवधिमा एक अर्ब ९८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको हो । 

यो नाफा अघिल्लो वर्षको सोही अवधिमा कमाएको नाफाभन्दा ५.६५ प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकसँग हाल रहेको ११ अर्ब ७६ करोड रुपैयाँ चुक्ता पूँजीका आधारमा यो प्रतिशेयर (वार्षिकीकरण) २८.९९ रुपैयाँ हो । यो अवधिमा बैंकले दुई खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसमध्ये एक खर्ब २२ अर्ब मुद्दती निक्षेपमा, ६० अर्ब बचत खातामा तथा १२ अर्ब चल्ती र १६ अर्ब कल खाताका निक्षेप छन् ।  यो अवधिमा बैंकले कमाएको नाफा वाणिज्य बैंकहरुमध्येको सातौँ बढी हो । हाल नेपालमा २० वाणिज्य बैंक सञ्चालनमा छन् । सात महिनामा वाणिज्य बैंकहरुले ३५ अर्ब ४९ करोड रुपैयाँ नाफा कमाएका छन् । 

बैंकहरुसँग हाल यी बैंकहरुको तीन खर्ब ७९ अर्ब रुपैयाँ बराबरको चुक्ता पूँजी छ । यो पूँजीको आधारमा अहिलेको प्रतिशेयर आम्दानी १५.६३ प्रतिशत हो । अहिले एभरेष्टको प्रतिशेयर आम्दानी बैंकिङ क्षेत्रकै दोस्रो धेरै हो ।  पञ्जाव नेशनल बैंकसँगको संयुक्त पूँजी लगानी रहेको एभरेष्ट बैंकसँग हाल २४ अर्ब भन्दा बढीको पूँजीकोष छ । हाल यस बैंकले १२८ शाखा, ३ एक्स्टेन्सन काउन्टर, १२ राजश्व संकलन काउन्टर र १६४ वटा एटीएममार्फत् सेवा दिँदै आएको छ ।
 

विहीबार, ०१ चैत्र २०८०, ०८ : ४६

प्रतिक्रिया