बुटवल उपमहानगरले मकै पोल्ने र सालको पात बेच्नेलाई सहयोग गर्दै

शुक्रबार, ०२ चैत्र २०८०, १८ : २२

काठमाडौँ  - बुटवल उपमहानगरपालिकाले परम्परागत पेशा व्यवसाय प्रवर्द्धनका लागि मकै पोल्ने र सालको पात बेच्ने महिलाहरूलाई उपकरण खरिद तथा क्षमता विकासका लागि अनुदान उपलब्ध गराएको छ।

कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल र प्रवक्ता शिव रानाले ३७ जनालाई सम्मानसहित रकम हस्तान्तरण गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले बुटवललाई सबैले अपनत्व महसुस गर्ने गरी साझा सहरका रूपमा स्थापित गर्न र परम्परागत पेशा र व्यवसाय अंगालेका महिलाहरूलाई प्रोत्साहन गर्न केही सहयोग गरेको बताए । उनले नगरले दिएको रकमले महिलाहरूले आफ्नो पेशा व्यवसायलाई अरू स्तरीय बनाउनका लागि सहयोग हुने बताए।

बुटवलका विभिन्न स्थानमा मकै पोल्ने र सालको पात बेचेर जीवन गुजारा गरिरहेका ३७ जना महिलाहरूलाई जनही ५ हजार रूपैयाँका दरले सहयोग उपलब्ध गराएको हो । कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले महिलाहरुले आफ्नो पेशा र व्यवसायलाई थप प्रभावकारी बनाउन मद्दत हुने गरी सहयोग गरेको बताइन्।  ‘बुटवललाई समानता, स्वाभिमान र अवसर सहितको बस्न योग्य सहर बनाउने उद्देश्यसहित यस्ता कार्यक्रम गर्दै आएका छौं,’ उनले बताए ।

शुक्रबार, ०२ चैत्र २०८०, १८ : २२

प्रतिक्रिया