२०८१ सालको ६ महिनाभित्रमा सुनको भाउ १ लाख ५० हजार पुग्न सक्ने

१ महिना अगाडि

काठमाडौँ-  यति बेला नेपाली बजारमा सुनको मुल्यले दिन दिनै नयाँ रेकर्ड कायम गरेको छ । केहि दिन अघि हाल सम्मकै उच्च (१ लाख २६ हजार प्रतितोला) भएको सुन हिजो  भने सामान्य घटेर  सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयामा कारोबार भएको थियो ।

यसरी सुनको मूल्यमा दिन दिनै नयाँ  रेकर्ड बन्नुको कारण के हो ? यो कति समय बढ्ने वा फेरी सामान्य बन्छ, बन्दैन ? यो व्यवसायी र उपभोक्ता दुवैको साझा चासोको विषय बनेको छ । हालको वर्तमान समयमा विश्व बजारको अवस्था हेर्दा नेपाली बजारमा मात्रै हैन सिङ्गो विश्व बजारमै सुनको मूल्य उच्च रहेको छ, विश्व बजारमा मूल्य बढ्दा नेपालमा समेत बढ्नु स्वाभाविक मानिन्छ ।

किन बढिरहेको छ सुनको मूल्य ?
निरन्तर रूपमा दुई साता देखि नेपाली बजारमा सुनको मूल्यमा ह्वात्तै  वृद्धि भएको छ । विश्व बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि बढ्नु स्वाभाविक नै हो तर यति मात्रै कारण पर्याप्त हुन सक्दैन आखिर किन बढी रहेको छ यसरी सुनको मूल्य भनेर हामीले नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यलाई प्रश्न गरेका छौ ।

अध्यक्ष शाक्य सङ आजको अर्थले गरेको कुराकानिको सविस्तार:
नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्ष शाक्यका अनुसार यसबारे बुझ्नका लागि हामीले विश्व बजारमा सुनको मूल्यमा भएको वृद्धिको कारणलाई नियाल्नु पर्ने बताएका छन् ।
रुस र युक्रेनबिचको युद्धको अन्तर्राष्ट्रियस्तरमा परेको प्रभाव , यूएस डलर मजबुत हुनुको साटो झनै कमजोर बन्दै जाँदा सुनको मूल्यमा पर्न गएको प्रत्यक्ष असर , रुस–युक्रेन बिचको लडाई यथावत् रहनु यी सबै यथावत् कारणले सुनको मूल्यमा प्रत्यक्ष प्रभाव पारेको छ । त्यसै गरी विश्व बजारमा देखिएको आर्थिक मन्दीको प्रभाव , रोजगारको अवसर गुम्दै जानु वा दैनिक उपभोग्य बस्तुको मूल्यमा वृद्धि हुनुले समेत सुनको मूल्यमा भूमिका खेलेको हुन्छ ।

बैंक वित्तीय संस्थामा आम मान्छेको विश्वास गुम्दै गएको कारण लगानीकर्ताले आफ्नो सुरक्षित लगानीका लागि सुन रोज्नुको कारणले समेत सुनको मूल्य थप वृद्धि हुँदै गएको मान्न सकिन्छ । अहिलेको समयमा विश्वव्यापी रूपमा रोजगारी दर घटिरहेको छ रोजगार दर घट्ने बित्तिकै आम्दानी समेत घट्न जान्छ आम्दानी घट्दा लगानी गर्ने ठाँउहरु सीमित हुन्छन् । अहिले उद्योगहरूमा लगानी घटिरहेको छ , मजदुरहरू बेरोजगार बनेको अवस्था छ उनीहरुसँग भएको सीमित लगानीको भरपर्दो आधार सुन बनेको छ यस कारणपनी सुनको मूल्यले थप उचाइ लिने आधार निर्माण भएको मान्न सकिन्छ ।
 

सुनको मूल्यको आगामी यात्रा कस्तो रहला ?
अहिलेको वर्तमान समयमा सुनको मूल्य घट्ने आधार देखिदैन किनकि जुन कारण सुनको मूल्यमा वृद्धि हुन पुग्यो त्यहीँ कारणहरू हाल विश्व बजारमा कायमै छन् । ती विद्यमान कारणहरु नघटेको अवस्थामा सुनको मूल्यमा कमी आउला भन्ने अपेक्षा राख्न सकिदैन।

हाल समस्याको सन्तुलन हुने आधार देखिँदैन , जब आधार र तथ्यहरु सन्तुलनमा आउँदैनन् तब मूल्यमा परेको असर घट्ने कुरा पनि आएन विश्वमा भएका युद्धको चर्काचर्की झनै बढेको अवस्था छ तसर्थ समग्रमा सुनको मूल्यमा तत्काल कमी आउने अवस्था देखिँदैन ।

बढीमा कति सम्म पुग्न सक्ला सुनको मूल्य ?
एउटा समय थियो सुनको मूल्य ६०, ७० हजार माथि जाँदै गर्दा हामीलाई सर्वाधिक मूल्य लागेको । त्यो समयमा पनि हामीले यही प्रश्नको सामना नगरेका होईन । तर परिस्थिति यस्तो बन्यो कि अहिले १ लाख २० हजार सम्मलाई सामान्य मूल्यको रूपमा हेर्नु परेको छ । यस कारण ठ्याक्कै यति पुग्ला भनेर त हामीले मात्रै हैन विश्वका टप विश्लेषकहरूले समेत भन्न नसक्लान् तर लामो समयको कार्य अनुभव र विश्व बजारको अध्ययनलाई आधार मानेर कतिसम्म भन्न सकिन्छ भने २०८१ सालको ६ महिनाभित्रमा सुनको भाउ १ लाख ५० हजार पुग्न सक्ने आधार प्रस्ट देखिन्छ ।

१ महिना अगाडि

प्रतिक्रिया