२९ अर्ब रुपैयाँ बराबरको विदेशी लगानीलाई उद्योग विभागको स्वीकृत

१ महिना अगाडि

काठमाडौँ- उद्योग विभागले २९ अर्ब रुपैयाँ बराबरको विदेशी लगानीलाई स्वीकृति दिएको छ । चालु आर्थिक वर्षको सात महिनामा विदेशी लगानी ल्याउन आवेदन प्राप्त भएकोमा सो बराबरको लगानी ल्याउन स्वीकृति दिइएको विभागका प्रवक्ता अर्जुन ओलीले बताए । 

त्यसमध्ये फागुन महिनामा मात्रै ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृति भएको छ । यो रकम चालु आर्थिक वर्षको अरु महिनाको तुलनामा सबैभन्दा बढी हो । 
यो वर्ष माघमा ३ अर्ब ४५ करोड, पुसमा १ अर्ब ७२ करोड, मंसिरमा २ अर्ब २५ करोड, कात्तिकमा १ अर्ब ७५ करोड, असोज महिनामा १ अर्ब ९८ करोड, भदौ महनिामा २ अर्ब ६९ करोड तथा साउन महिनामा १ अर्ब ९३ करोड रुपैयाँ बराबरका लागि विभागले स्वीकृति दिएको थियो । 

यो अवधिमा कुल २५३ वटा कम्पनीले प्रत्यक्ष लगानीका लागि अनुमति पाएका छन् । त्यस्तै हाल चलिरहेका ३३ कम्पनीमा शेयर खरिद गर्न विदेशी लगानीकर्ता आएका छन् । ३१ वटा कम्पनीले भने विदेशबाट प्रविधि हस्तान्तरणका लागि स्वीकृति प्राप्त गरेका छन् । 

विभागको यो तथ्यांक स्वीकृतिको मात्रै रकम हो । विभागको स्वीकृतिपछि मात्रै विदेशी लगानी भित्रिने अन्य प्रक्रियाहरु अघि बढ्ने भएकोले यसलाई प्रारम्भिक बिन्दु मानिन्छ । यही स्वीकृतिका नेपाल राष्ट्र बैंकले विदेशी लगानी ल्याउनको लागि सटही सुविधा प्राप्त गर्छन् । यो रकममा लगानी बोर्डले स्वीकृत गरेको लगानी प्रतिवद्धता भने नपर्ने प्रवक्ता ओली बताउँछन् । 

अहिले एउटै परियोजनामा ६ अर्ब भन्दा बढीको लगानी लगानी बोर्डले स्वीकृति दिँदै आएको छ । यो रकमसमेत  जोड्दा विदेशी लगानीको रकम ठूलो देखिने भए पनि वास्तविक रुपमा प्राप्त हुने रकम भने ज्यादै न्यून हुन्छ । 

उद्योग विभागबाट मात्रै हालसम्म ४ खर्ब ७९ अर्ब रुपैयाँ बराबरको विदेशी लगानीको लागि प्रतिवद्धतासहित स्वीकृति प्राप्त भएका छन् । 
यो लगानीले ३ लाख २२ हजार जनाले रोजगारी प्राप्त गर्न सक्ने बताइएको छ । यद्यपि अहिलेसम्म कति रकम आयो भन्ने यकिन तथ्यांक छैन ।

१ महिना अगाडि

प्रतिक्रिया