भक्तपुरमा दुई दिने निरंकारी सन्त समागम आयोजना हुंदै

१ महिना अगाडि

काठमाडौँ - भक्तपुरमा दुई दिने सन्त समागम आयोजना हुने भएको छ । सन्त निरंकारी मण्डल नेपालको आयोजनामा यही चैत्र ३ र ४ गते सो सत्संघ आयोजना हुने भएको हो । 

सन्त निरंकारी मण्डल नेपालले आज पत्रकार सम्मेलन आयोजना गर्दै ‘२३ औं निरंकारी सन्त समागम नेपाल’ दुई दिनसम्म चल्ने जानकारी दिएको छ । उक्त कार्यक्रमका लागि १२०० जना स्वयंसेवक खटाइएको आयोजकले जनाएका छन् । सत्संघमा उपस्थित भएका मानिसहरुका लागि निःशूल्क खाने बस्ने व्यवस्था, यातायात, पानी, ५०० वटा शौचालय आदिको व्यवस्था रहने र अन्य किसिमका खानेकुराका लागि सस्तो मूल्यमा क्यान्टिनसमेत रहने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिए ।सल्लाघारीको चौरको १०८ रोपनि जग्गामा उक्त कार्यक्रम आयोजना हुने आयोजकले जनाएका छन् । उक्त कार्यक्रमका लागि स्वयंसेवकहरुले निःशूल्क सफा गरि पण्डाल लगाएको र सो हटाएपछि सबै सफा गरेर मात्र छोड्ने निरंकारी मण्डलका उपत्यका क्षेत्रीय सञ्चालक बाबुराज महर्जनले जानकारी दिए ।

सो कार्यक्रमका लागि १० हजार भारतीय र करिब ५ हजार नेपालीको उपस्थिति रहने आयोजकले जनाएका छन् । कार्यक्रममा उपस्थित हुनेहरु स्वेच्छाले आफ्नै खर्चमा आएको र कार्यक्रम पनि कतैको फन्डिङ नभइ स्वेच्छिक दानबाट सञ्चालन हुने आयोजकको दाबी छ ।१०० भन्दा बढी देशमा विभिन्न नामबाट रहेको सन्त निरंकारी मिसनको नेपालका ३९ जिल्लामा १२५ सत्संघ भवन रहेका छन् । भोलिबाट सुरु हुने कार्यक्रम नेपालमा पहिले पनि आयोजना भएका भएतापनि यसपटकको भने नेपालमा आयोजना भएकामध्ये सबैभन्दा भव्य रहने आयोजकको अपेक्षा छ ।यसअघि सन्त समागममा सन्त निरंकारी मिशनले समाज कल्याणका लागि निःशूल्क स्वास्थ्य जाँच एवं रक्तदान शिविर समेत सञ्चालन गरेको थियो । मिसनका माध्यमबाट भूकम्प पीडितलाई राहत दिँदै आइएको छ । मिसन अन्तर्गतका विभिन्न संस्थाहरुले खोलानदी, मसानघाट लगायतका स्थान सफा गरि वातावरण प्रवद्र्धनमा समेत सहयोग पुर्याउँदै आएको छ ।
 

१ महिना अगाडि

प्रतिक्रिया