समाचार टिप्पणी

एमालेमा विद्याको पुनरागमनले ओलीको एकाधिकार तोडिँदै

बुधबार, १८ असार २०८२, १४ : २९

काठमाडौं- मुलुककै सर्वोच्च पदमा पुगेर साझा अभिभावकीय भूमिका निर्वाह गर्ने दायित्व बोकेका राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कने विषय अब नौलो रहेन । एकै कार्यकाल राष्ट्रपति र उपराष्ट्रपति भएका मध्ये पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ नेकपा(माओवादी केन्द्र)को उपाध्यक्षमा फर्किए । मुलुककै दोस्रो वरियतामा रहेका पासाङ पार्टीको पनि अध्यक्ष पछिको दोस्रो पदमा फर्किएका छन् । यद्यपि, वरियतामा भने उनी पूर्ववत् पार्टीको दोस्रो स्थानमा रहन सकेनन् । 

यता, उनकै कार्यकालमा राष्ट्रपति भएकी विद्यादेवी भण्डारी पनि एमालेको सक्रिय राजनीतिमा र्फिर्कएको उद्घोष गरिन् । शनिबार ७४ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले पार्टी सदस्यता नवीकरण गरेर सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी हुन् । मुलुक गणतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि दोस्रो पटक राष्ट्रपति  र उपराष्ट्रपतिको पदमा विराजमान दुबै जना आफ्नो पूर्ववत पार्टीको सक्रिय राजनीतिमा फर्किएका छन् । 

पूर्वराष्ट्रपति भण्डारीको भने पार्टीगत जिम्मेवारी अझै निक्र्योल भइसकेको छैन । उनी एमालेको पूर्वउपाध्यक्ष भएकाले पार्टी नेतृत्वकै आकांक्षासहित पुनःराजनीतिमा होमिएको चर्चा छ । अर्थात् एमालेमा आफूलाई निर्विकल्प नेतृत्व ठानेका पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि चुनौती दिन पुनःसक्रियता बढाएको आकलन गरिएको छ । यसले एमालेमा अब ओली–विद्या आमने सामनेको अवस्था उत्पन्न भएको छ । ओलीले पनि यही बुझेर विद्या लक्षित अभिव्यक्ति विगतदेखि नै दिँदै आएका थिए् । उनले यसअघि राष्ट्रकै सम्मानजनक पदमा पुगेका व्यक्ति सक्रिय राजनीतिमा फर्कन उचित नहुने बताउँदै आएका थिए । 

शनिबार राष्ट्रियसभा गृहमै राजनीतिमा फर्कने भण्डारीको शंखघोषले ओलीमा चिसो पसेको उनको अभिव्यक्ति र भावभंगीबाटै सहजै बुझ्न सकिन्थ्यो । ओलीले विद्याको सम्बोधन समेत नसुनेर कार्यक्रमस्थलबाटै बाहिरिए । स्पेन जाने तयारीमा रहेका उनले भण्डारीको भाषण यसअघि सुनेको र सधैं राम्रो बोल्ने बताउँदै त्यहाँबाट हिँडेका थिए । ओलीले पार्टीमा आफू विरुद्ध बोल्न थालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको सम्बोधनको समेत पूर्वानुमान गर्दै उनलाई पनि राम्रो बोल्ने बताएर निस्किए ।

यसले एमालेमा विद्याको पुनरागमनले ओली सशंकित रहेको स्पष्ट देखिएको छ । आफ्नो एकल साम्राज्यमा धावा बोल्न आँटेपछि उनी भण्डारीलक्षित संशययुक्त भाव आफ्नो सम्बोधनमा प्रकट गरेका थिए । ओलीले विद्याको पुनरागमन सम्बन्धी सार्वजनिक तथ्यबारे भने मिडियालाई दोष लगाउँदै कुप्रचार गरिएको आरोप लगाए ।

भण्डारीको पुनःआगमन र उनलाई रोक्न गरिएको तिकडमले एमालेमा ओलीको विकल्प तयार भएको सन्देश दिएको छ । विद्यालाई रोक्न विधान समेत संशोधन गर्ने तयारीमा रहेका ओली र उनका निकटस्थका सबै प्रयास अन्ततः निरर्थक सावित भएको छ ।पूर्ववत पार्टीमा उनको पुनरागमनले एमालेको आन्तरिक राजनीति निकै पेचिलो बन्दै ध्रुवीकरण समेत बढाएको छ । केहीले उनको कदम स्वागतयोग्य ठानेका छन् भने कतिपयलार्ई अरुचिकर लागेको छ । 

नेपाली राजनीतिमा समेत यसले नयाँ बहस सिर्जना गरेको छ । उनको पुनरागमनले वाम एकताको वातावरण समेत बनाउने भन्दै केही हौसिएका समेत छन् । तथापि, उनको पुनरागमन उनमा निहित नितान्त एमाले मोहले प्रेरित भएको मात्रै देखिन्छ । यसले एमालेको आन्तरिक राजनीति तरंगित बने पनि राष्ट्रिय राजनीतिमै फलदायी हुनेमा भने सन्देह नै छ ।

एमालेमा ओलीको एकाधिकार तोड्ने बाहेक उनको पुनरागमनले वाम आन्दोलनमा भने ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात!’ भनेझै हो । किनभने, उनले वाम दल पुनःसंगठित गर्ने ध्येयका साथ एमालेमा सक्रियता बढाएकी होइनन् । उनी विभाजित बाम दलका लागि समेत सर्वस्वीकार्य नेतृत्व बन्ने सम्भावना पनि छैन । त्यसैले उनी विशुद्ध एमालेको नेतृत्व सम्हाल्ने मोहले मात्रै दलीय आबद्धता पुनः कायम गराएकी हुन् । 

यद्यपि ओलीको क्रियाकलापले आजित भएर एमालेबाट विभाजित हुन बाध्य भएको एकीकृत समाजवादी भने भण्डारीले नेतृत्व सम्हालेपछि एकताबद्ध हुन सक्ने सम्भावना छ । तर, उनले पार्टी नेतृत्वको जिम्मेवारी लिन त्यति सहज भने छैन । उनीसँग नेतृत्वका लागि दुई वटा मात्रै विकल्प छ । सर्वसम्मत नेतृत्वमा पदस्थापन या प्रतिस्पर्धा । उनलाई एमाले नेतृत्वले सर्वसम्मत अध्यक्ष स्वीकार्ने भए रोक्ने प्रयत्न नै गर्ने थिएन । 

उनी नेतृत्वमा ओलीको उत्तराधिकारी भएर होइन, प्रतिस्पर्धीका रुपमा निर्वाचित हुनुपर्ने बाध्यात्मक अवस्थामा छ । त्यसबाहेक ओलीको कृपाले पुरानै पद उपाध्यक्षमा फर्किन उनको पूर्वराष्ट्रपतिको कदले समेत दिँदैन र त्यसको औचित्य पनि छैन । यही बुझेर ओलीले विद्याको आगमन सहयोगीका रुपमा नभइ प्रतिस्पर्धीकै रुपमा भएकाले रोक्न अनेकौं बखेडा गरेका थिए । 

त्यसैले उनी नेतृत्वमा आउने एकमात्रै उपाय भनेको ओलीलाई आगामी एघारौं महाधिवेशनमा विस्थापन गरेरै हो । त्यसको पूर्वतयारीस्वरुप एमालेका पदाधिकारी र स्थायी समितिमै रहेका केही नेताले विद्याको पुनरागमनको पक्षमा पार्टीभित्र र बाहिर माहौल बनाउन लागिपरेका छन् । 

यी यावत घटनाक्रमले आगामी महाधिवेशनमा ओली–विद्याकै प्रतिस्पर्धा हुने निश्चितप्रायः छ । ओलीले यस अघि नै पार्टीमा तेस्रो पटक नेतृत्वमा आउने सार्वजनिक उद्घोष गर्दै ७० वर्षे उमेरहदको औचित्य सकिएको बताइसकेका छन् । यस अघि एमालेबाट विभाजित भएका नेतालाई फर्काउन उमेरहद स्थगन गरिएको थियो । त्यसका अलावा उनले दुई कार्यकाल भन्दा बढी पार्टीको कार्यकारी पदमा नरहने प्रावधानलाई लत्याएर त्यसको औचित्य सकिएको जिकिर गरेका छन् । 

पार्टीको विधि विधानलाई पूर्णतया अवज्ञा गर्दै निरकुंशताउन्मुख ओलीलाई विद्याको पुनरागमनले चुनौती खडा गरेको छ । उनको एकल नेतृत्व मोहमा विद्या तगारो बनेर अघि बढेकी छन् । यसले एमालेमा ओलीको निरंकुशता तोड्दै आन्तरिक लोकतन्त्रको अभ्यासलाई समेत पुनर्जिवीत तुल्याउन प्रमुख भूमिका खेल्ने छ । 

नवौं महाधिवेशनमा ओलीविरुद्ध उम्मेदवारी दिएका माधव नेपाललाई एमालेबाट बाहिरिन बाध्य पारियो भने दशौं महाधिवेशनमा उम्मेदवारी दिएका भीम रावल पनि अपमानजनक ढंगले पार्टीबाटै निष्कासित गरिएको छ । यसरी ओलीले पार्टीमा आफ्नो निरंकुश चरित्र प्रदर्शित गरिरहेको बेलामा विद्याको आमगनले भने उनमा निकै बेचैनी बढाएको छ । ओलीको यस प्रकारका निरकुंश रवैयालाई निष्तेज पार्न एमालेमा विद्याको पुनरागमन कामयावी हुने देखिन्छ । 

कुनै बेला एमालेमा ओलीकै सारथि रहेकी उनी अब आफ्नो पूर्व नेतालाई नै चुनौती दिने ठाउँमा पुगेकी छिन् । उनको पुनरागमनले वाम आन्दोलनमा उल्लेख्य उपलब्धी हासिल हुन नसके पनि एमालेमा ओलीको एकाधिकार तोड्दै पार्टीमा आन्तरिक लोकतन्त्र पुनस्र्थापित गर्न प्रभावकारी भूमिका खेल्ने छ । यसले उनका पति मदन भण्डारीद्वारा प्रतिपादित प्रतिस्पर्धाबाटै श्रेष्ठता हासिल गर्ने एमालेको पथप्रदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद(जबज)लाई समेत न्याय प्रदान गर्नेछ ।
 

 
 
 
 
 
 
बुधबार, १८ असार २०८२, १४ : २९

प्रतिक्रिया