दलित महिलालाई फेडोले दियो बिउ पुँजी

१ महिना अगाडि

काठमाडौँ - आर्थिक उपार्जनमा दलित महिलालाई सहभागी गराउँदै वित्तीय रूपमा सबल बनाउने उद्देश्यले दलित महिला संघ मकवानपुर (फेडो)ले  हेटौँडा उपमहानगरपालिका भित्रका पाँच कृषक समूहलाई बिउ पुँजी वितरण गरेको छ।

उद्यम विकास प्रवर्द्धन कार्यक्रम अन्तर्गत शनिबार पाँच कृषक समूहलाई प्रतिसमूह ४२ हजार रुपैयाँको बिउ पुँजी प्रदान गरिएको फेडो मकवानपुरकी अध्यक्ष पवित्रा विश्वकर्माले जानकारी दिइन्। उनले दलित महिलाहरूलाई समूहमा आबद्ध गराई विभिन्न पेसा तथा व्यवसायका लागि उक्त रकम खर्च गर्ने बताइन्। नेपालमा दलित महिला तथा किशोरीहरूको मानव अधिकार प्रवर्द्धन परियोजनाअन्तर्गत फाउन्डेसन फर जस्ट सोसाइटी ९एफजेएस०को सहयोगका कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष विश्वकर्माको भनाइ छ। उनले उक्त बिउ पुँजी समूहले सिफारिस गरेको सदस्यलाई कृषि, व्यवसाय, हस्तकला, घरेलु उद्योगलगायतका क्षेत्रमा लगानी गर्ने गरी उपलब्ध गराइने जानकारी दिइन्। पञ्चवर्षे योजनाअनुसार उक्त कार्यक्रम अघि बढाएको जानकारी दिँदै अध्यक्ष विश्वकर्माले हेटौँडा– ३ मा रहेको सफल दलित महिला समूह, हेटौँडा– ६ मा रहेको उद्यमी दलित महिला समूह, हेटौँडा– ९ को अनुग्रह दलित महिला समूह, हेटौँडा– ११ को स्मारक दलित महिला समूह र हेटौँडा– १५ को चित्रेपानी दलित महिला समूहलाई उक्त बिउ पुँजी वितरण गरिएको बताइन्।

१ महिना अगाडि

प्रतिक्रिया