आलु खेतीका लागि क्षेत्र विस्तार

१ महिना अगाडि

 काठमाडौँ - बागलुङ जिल्लाका निसीखोला, ढोरपाटन र ताराखोला क्षेत्र आलु उत्पादनमा प्रसिद्ध छन् । बागलुङ आलु खेतीका लागि उर्वर भएकाले कृषि ज्ञान केन्द्रले यस वर्षदेखि क्षेत्र विस्तार गर्न थालेको छ । 

ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा रु तीन करोड ५० लाख  विनियोजन गरेर किसानलाई आलुको बिउ वितरण गरि रहेको छ । आलु खेतीतर्फ कृषकलाई आकर्षित गर्न यसबाटै आत्मनिर्भर बनाउनेतर्फ कृषि ज्ञान केन्द्र सक्रिय बनेको छ । बागलुङलाई आलुमा आत्मनिर्भर बनाई किसानलाई आयआर्जनसँग जोड्न यस वर्ष आलु खेतीको क्षेत्र विस्तार  गरिएको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार मगरले जानकारी दिए। उनका अनुसार १५० हेक्टर क्षेत्रफलमा खाएन र बिउ आलु लगाइने छ । बिउका लागि ढोरपाटन र तारा खोलाको आलु तथा खाएनका लागि काभ्रेबाट आलु लिएर वितरण गरिएको पुन मगरको भनाइ छ । १३९ हेक्टरमा खाएन र १० हेक्टरमा ‘बिउ आलु’ लागाइने उनले बताए। जिल्ला भरका किसानलाई दुई लाख २२ हजार २०० किलो आलु वितरण गर्ने तयारी रहेको पुन मगर बताछन् । हालसम्म ७४ वटा कृषि समुह तथा सहकारीले सम्झौता गरेका छन् । पछिल्लो समय बसाइँसराइका कारण खेती योग्य जमिन बाँझो बन्दै गएका छन् । आलु खेती गर्दा बाँझो जमिन प्रयोगमा आउने हुँदा आलु खेतीको क्षेत्र विस्तार थालिएको हो । निर्वाहमुखी खेती गर्दै आएकोमा अब व्यावसायिक रुपमा गरिने भएको हो ।

 कृषक समूह र कृषि सहकारी मार्फत किसानलाई उन्नत जातका आलुको बिउ उपलब्ध गराउन थालिएको छ । खाएन (खानका लागि) र बिउका लागि गरी दुई थरि आलु कृषि ज्ञान केन्द्रले किसानलाई वितरण गरि रहेको छ ।सूचना अधिकारी पुन मगरले भने – “बागलुङको धेरै जसो ठाउँमा आलु उत्पादन राम्रो हुन्छ, अहिलेसम्म सीमित क्षेत्रमा कृषकहरुले आलु खेती गर्दै आउनु भएको छ, हामीहरुले क्षेत्र विस्तार गर्ने गरि काम गरि रहेका छौँ, सोही अनुसार कृषि ज्ञान केन्द्रले कृषक समुह र कृषि सहकारीलाई आलुको बिउ उपलब्ध गराउन थालेको छ, उन्नत जातको आलुको बिउ काभ्रेबाट ल्याइएको छ भने बिउका लागि स्थानीय जात ढोरपाटन र ताराखोलाबाट ल्याइने छ ।”उद्यमशील कृषक समूह काठेखोला गाउँपालिका– ३ धम्जा ज्ञानकुमार छन्त्यालले कृषि ज्ञान केन्द्रबाट ३६ क्न्टिल आलुको बिउ लगेको बताए । ७५ प्रतिशत अनुदानमा लगेको आलुको बिउ गाउँका किसान र कृषि समुहमा आबद्ध सदस्यलाई उपलब्ध गराएको बताए । यसले धम्जा गाउँका किसानलाई आलुखेतीतर्फ आकर्षित गरेको उनको भनाइ छ । यस वर्ष धेरै किसानहरु आलु खेती गर्न तर्फ लागेको सुनाउँदै अब उत्पादनमा वृद्धि आउने छन्त्याल बताछन् ।हाल बागलुङमा तीन हजार छ सय ५५ हेक्टरमा आलुखेती हुँदै आएको छ । यस वर्ष खेती गर्ने क्षेत्रफल बढ्ने छ । वर्सेनि ५९ हजार ६५० टन आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
 

१ महिना अगाडि

प्रतिक्रिया