ताप्लेजुङमा घरेलु उत्पादन प्रवर्धन गर्न तालिम सञ्चालन

सोमबार, ०५ चैत्र २०८०, १५ : ५९

काठमाडौँ - ताप्लेजुङमा घरेलु उत्पादन प्रवर्धन गर्न झोला निर्माण ९बनाउने० गर्ने तालिम सञ्चालन गरिएको छ । घरेलु तथा स्थानीय उत्पादनका ढाका, खाँडी र अल्लोको कपडाबाट झोला निर्माण  गरिएको छ । 

जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा सञ्चालित १५ दिने झोला निर्माण गर्ने तालिम आइतबार सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख युवराज घोर्साइँले स्थानीय तथा घरेलु उत्पादनको प्रवर्धन गर्न तालिम सञ्चालन गरिएको बताए । घोर्साइँका अनुसार स्थानीय महिलाको आम्दानी वृद्धि गर्न सहयोग पुग्ने उद्देश्यले झोला बनाउने तालिम सञ्चालन गरिएको हो । तालिम अन्तर्गत झोला निर्माणमा जिल्ला भित्रकै उद्यमीबाट उत्पादन गरिएका अल्लोको कपडा, खाँडी तथा ढाका कपडाको प्रयोग गरिएको उनले बताए । 

घरेलु उत्पादनका कपडाको प्रयोग गरेर झोला उत्पादन गरी बिक्री गर्न वा व्यवसाय सञ्चालन गरेमा कपडा र झोला उत्पादन गर्ने उद्यमीलाई फाइदा पुग्ने उनको भनाइ छ । यसरी विभिन्न सीप सिकेर उद्यम गर्न चाहने महिला तथा उद्यमीलाई घरेलु कार्यालयले तालिमको अवसर प्रदान गरिरहेको उनले बताए । विभिन्न तालिमले यहाँका उद्यमीलाई आत्मनिर्भर बनाउन र उनीहरूको आम्दानी वृद्धि गर्नमा सहयोग पुग्ने विश्वास घरेलु कार्यालयको रहेको छ । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी नवीन भट्टराईका अनुसार गत फागुन २० गतेदेखि चैत ५ सम्म सञ्चालित झोला निर्माण तालिममा ११ जना महिलाले सहभागिता जनाएका छन् । जिल्ला स्थित नेपाल घरेलु तथा साना उद्योग महासङ्घ महिला समितिसँग सहकार्य गरी तालिम गरिएको बताइएको छ । 

सोमबार, ०५ चैत्र २०८०, १५ : ५९

प्रतिक्रिया