सिंहदरबारमा डीडीसीको सहुलियत बिक्री केन्द्र

१ महिना अगाडि

काठमाडौँ - दुग्ध विकास संस्थान (डीडीसी) ले सिंहदरबार परिसरमा सहुलियत बिक्री केन्द्रको स्थापना गरेको छ ।

बुधबार सिंहदरबार परिसरमा नेपाल सरकारका मुख्यसचिव डा।वैकुण्ठ अर्यालले सहुलियत बिक्री केन्द्रको उद्घाटन गरेका हुन् । अर्यालले डीडीसीलाई दुग्धजन्य पदार्थ बिक्रीमा समस्या भएको समयमा सिंहदरबार परिसरमा बिक्री केन्द्र बनाउनु उपयुक्त रहेको बताए । उनले सिंहदरबारमा बिक्री केन्द्र स्थापना गर्ने बित्तिकै दुग्धजन्य पदार्थमा छुट दिन आवश्यक नरहेको समेत उल्लेख गरे । अर्यालले डीडीसीको बिक्री केन्द्र बढ्दै जाँदा उपभोक्तालाई सहजता आउने देखिएको बताउँदै सिंहदरबारभित्र डीडीसीको बिक्री केन्द्र हुँदा डीडीसीको उत्पादन प्रयोगमा सहज हुने विश्वास लिएको सुनाए । 

डीडीसीका महाप्रबन्धक सञ्जीव झाले लामो समयदेखि सिंहदरबार परिसरमा बिक्री केन्द्रको स्थापना गर्न खोजेको र केही छलफलपछि पूरा भएको बताए ।उनले बजारमा दुग्धजन्य पदार्थ स्टक रहेको बेलामा सिंहदरबारमा बिक्री केन्द्र स्थापना गर्नु उपयुक्त रहेको समेत बताए । उनले भने, ‘सिंहदरबारभित्र हामीले ४४ प्रकारका पदार्थहरू उपलब्ध गराएका छौँ । त्यसले गर्दा यहाँभित्रका कर्मचारी पनि लाभान्वित हुने छन् भने डीडीसीको समेत बजार विस्तार हुनेमा हामी विश्वस्त रहेका छौँ ।’त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा।रेवतीरमण पौडेलले डीडीसीले धेरै जनसङ्ख्या भएको क्षेत्रमा बिक्री केन्द्रहरूलाई अभियानकै रूपमा अगाडि बढाउन आग्रह गरे । ‘डीडीसी विगतका वर्षको भन्दा पछिल्लो ६ महिनामा नाफा गएको छ । पछिल्लो समय दुग्धजन्य वस्तुहरू बिक्रीमा आएको कमीलाई सिंहदरबारको सहुलियत केन्द्रले थप सहयोग पुग्ने छ,’ उनले भने । सचिव पौडेलले सिंहदरबारमा २ हजार ५ सयभन्दा बढी कर्मचारी भएकाले उनीहरूको सहजताको लागि बिक्री केन्द्र स्थापना गरिएको बताए ।
 

१ महिना अगाडि

प्रतिक्रिया