मर्मतसम्भारका लागि हेटौंडा सिमेन्टको उत्पादन बन्द

विहीबार, ०८ चैत्र २०८०, ०९ : १५

काठमाडौं । मकवानपुर हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका केही उपकरणको तत्काल मर्मत सम्भार गर्नुपर्ने भन्दै सिमेन्टको उत्पादन बुधबारदेखि बन्द गरेको छ। 

सो उद्योगले दुई हप्ताभित्रै आगो बाल्ने भट्टीलगायत केही यन्त्रको मर्मतसम्भार गरेपछि पुनःसिमेन्टको उत्पादन गर्ने लक्ष्य राखिएको हेटौंडा सिमेन्टले जानकारी गराएको छ । सो उद्योगमा हालसम्म करिब सवा तीन लाख बोरा सिमेन्टको उत्पादन गरेर मौज्दात रहेको छ। 

सिमेन्टलाई काठमाडौं सहित अन्य सहरमा पर्याप्तमात्रामा खपत गराउन उद्योगबाट प्राविधिक खटिसकिएको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले राससलाई जानकारी दिए। उनका अनुसार सो उद्योगमा अहिले एक हजार ६ सय मेट्रिक टन कोइला मौज्दात राखिएको र अन्य थप कोइला ल्याउन उद्योगले बोलपत्र आह्वान गरिसकिएको उनले जानकारी दिए।

सरकारले विसं २०३३ वैशाखमा हेटौंडाको लामसुरेमा एक अर्ब ५० करोड रुपैयाँको लागतमा सिमेन्ट उद्योगको स्थापना गरेको थियो । सो उद्योगले विसं २०४३ मंसिर २६ गतेदेखि व्यावसायिकरुपमा सिमेन्टको उत्पादन गरी काठमाडौं, पोखरा,भैरहवा, विराटनगरलगायत विभिन्न सहरको उपभोक्तालाई सिमेन्टको आपूर्ति गर्दै आएको थियो।  

विहीबार, ०८ चैत्र २०८०, ०९ : १५

प्रतिक्रिया