प्लाइउडको निर्यात बढ्दै

१ महिना अगाडि

काठमाडौँ  - भारतले गुणस्तर प्रमाण चिह्नको अनिवार्य व्यवस्था गर्दै रोकेको नेपाली प्लाइउडको भारत निकासी अवरोध हटेको छ ।

 केही वर्षयता नेपालबाट उत्साहजनक रूपमा भारततर्फ निकासी हुन थालेको प्लाइउडमा भारतले अवरोध लगाएको थियो । निर्यात अवरोध हटाए पछि फेरि यसको निर्यात निरन्तर अघि बढेको छ । नेपालको पूर्वी नाकातिरबाट प्लाइउड निकासी जारी रहे पनि पश्चिमको नेपालगन्ज नाकाबाट भने रोकिएको थियो । भारत सरकारले प्लाइउड, बोर्ड र डोरमा एक वर्ष बी आइएस मापदण्डको लागि म्याद थप गर्ने निर्णय गरेका कारण अवरोध हटेको हो ।नेपाली प्लाइउड इन्डस्ट्रीको लागि ठूलो राहतको निर्णय भएको बताउँदै ओम प्लाइका सञ्चालक पशुपति दयाल मिश्रले यसले नेपाली प्लाइ उद्योगका लागि निकै ठुलो राहत दिएको बताए । ‘यो हाम्रालागि खुशीको कुरा हो,’ उनले भने । ओम प्लाइले मात्रै गत वर्ष ४ करोड बढीको प्लाइ भारत निकासी गरेको थियो ।भारत सरकारको निर्णयसगै नेपाल–भारत नाकापारि रुपैडिहास्थित भारतीय भन्सार कार्यालयले गुणस्तर प्रमाण चिह्न नाममा अवरोध सिर्जना गरेपछि पश्चिमको सबैभन्दा ठूलो नाका नेपालगन्जबाट प्लाइउडको निकासी मार्च १ तारिख देखि रोकिएको थियो ।

भारतले गुणस्तर प्रमाण चिह्नको अनिवार्य व्यवस्था गर्दै निर्यात रोकेको थियो ।‘निर्यातमात्रै होइन, भारतकै उद्योगका लागि पनि अनिवार्य थियो,’ मिश्रले भने, ‘अब त्यसको म्याद एक वर्षका लागि थपिएको छ, त्यतिन्जेलमा गुणस्तर प्रमाण चिन्ह अनिवार्य लिइसक्नुपर्छ ।’ भारत सरकारले गत भदौ १४ मा राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी फेब्रुअरी २८ पछि प्लाइउडमा बिआइएस प्रमाण अनिवार्य गरिएको जनाएको थियो । सोही सूचना रद्द गर्दै शुक्रवार एक वर्षका लागि म्याद थप्ने निर्णय गरिएको हो । सम्बद्ध उद्योग सञ्चालकका अनुसार, भारतको वन मन्त्रालयले आगामी ५ वर्षसम्म वन कटान नगर्ने र जंगल संरक्षण गर्ने नीति अघि सारेपछि नेपालबाट प्लाइउड आयात गरेर त्यहाको माग धान्दै आएको छ । शिखर प्लाई उद्योगका सञ्चालक चम्पालाल बोथराले गुणस्तर प्रमाण चिन्ह अनिवार्य गरिँदा रोकिएको निर्यात अब सुचारु हुने विश्वास व्यक्त गरे ।नेपालबाट गत वर्ष पौने ५ अर्बको प्लाइउड निकासी गरिएको थियो । नेपाल प्लाइउड संघले यो वर्ष करिब ८ अर्बको प्लाइउड निकासी गर्ने लक्ष्य व्यवसायीको रहेको जनाएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया