युक्रेन नेपालको चौथो ठूलो आपूर्तिकर्ता

१ महिना अगाडि

काठमाडौँ - युद्धग्रस्त मुलुक युक्रेन नेपालको चौथो ठूलो आपूर्तिकर्ता मुलुक बनेको छ ।

 चालु वर्षको फागुनसम्म युक्रेनले नेपालमा १४ अर्ब ३७ करोडको मालसामान पठाएको छ । अघिल्लो वर्ष युक्रेनले नेपालमा १२ अर्ब ५८ करोडको सामान निर्यात गरेको थियो । युक्रेनबाट भएको आयात भारत, चीन र संयुक्त अरब इमिरेट्स पछिकै सर्वाधिक धेरै हो । अघिल्लो वर्ष युक्रेन सातौँ स्थानमा थियो । अघिल्लो वर्ष इन्डोनेसिया, अर्जेन्टिना र मलेसियाबाट हुने आयात युक्रेनको भन्दा धेरै थियो । फागुनसम्म नेपालले १५४ देशसँग व्यापार गरेको छ । त्यसमध्ये डेनमार्क, नर्वे र अफगानिस्तानसहित २८ देशसँग व्यापार नाफामा छ भने बाँकी १२६ देशसँगको व्यापार नोक्सानमा छ । नेपालमा युक्रेनबाट मुख्यतया सूर्यमुखी तेल र सर्सिउँको दाना आयात हुने गरेको छ । चालु आर्थिक वर्षको पहिलो फागुन महिनासम्म नेपालमा युक्रेनबाट ७ करोड ४५ लाख लिटर सूर्यमुखी तेल आयात भएको देखिएको छ । भन्सार विन्दुमा यसको मूल्य १० अर्ब ४ करोड रुपैयाँ बराबर हो । त्यस्तै सर्सिउँको तेल पनि ५ करोड ५२ लाख किलो आयात भएको छ । यसको भन्सार मूल्य ४ अर्ब १८ करोड रुपैयाँ छ । सोयाबिन तेल भने ३ लाख लिटर मात्रै आयात भएको छ । यसको मूल्य ५ करोड रुपैयाँ बराबर रहेको छ । 

यो वर्ष युक्रेनबाट आउने दुवै वस्तुको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो वर्ष भन्सार विन्दुमै प्रतिलिटर १९६ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य यो वर्ष घटेर औसत १३५ रुपैयाँमा झरेको छ । सोही कारण अघिल्लो वर्ष ४ करोड ८२ लाख लिटर आयात भएको सूर्यमुखी तेल यो वर्ष करिब १५ प्रतिशतले बढेको हो । त्यस्तै पोहोर १०८ रुपैयाँ प्रतिकेजी सर्सिउँको मूल्य घटेर ७६ रुपैयाँमा झरेको छ। योसँगै अघिल्लो वर्ष २ करोड ६९ लाख किलोग्राम आयात भएको सर्सिउँको माग यो वर्ष १०५ प्रतिशतले बढेको हो । नेपालमा अहिले युक्रेन, अर्जेन्टिना र रोमानियाबाट सूर्यमुखी तेलको आयात हुँदै आएको छ । त्यसमध्ये युक्रेनबाट प्रतिलिटर १३५ रुपैयाँ मूल्य रहँदा अर्जेन्टिनी तेलको मूल्य प्रतिलिटर १३२ रुपैयाँमा आउँछ । यद्यपि ढुवानी खर्च र समयका कारण नेपालमा धेरै तेल युक्रेनबाटै तेलको आयात हुने गरेको छ । यो वर्ष अर्जेन्टिनाबाट १ करोड ३५ लाख लिटर मात्रै सूर्यमुखीको आयात भएको छ । अर्कोतर्फ सर्सिउँको तेलका लागि भने नेपालको प्रमुख निर्यातकर्ता मुलुकहरुमा युक्रेन, अष्ट्रेलिया र युक्रेनसँगैको रहेको देश मोदोल्भा छन् । अष्ट्रेलियाबाट आउने अन्य दुई देशबाट आउनेभन्दा करिब १० रुपैयाँ महँगो पर्छ । सोही कारण नेपाली आयातकर्ताहरुको रोजाइ युक्रेन नै हुने गरेको छ । 
 

१ महिना अगाडि

प्रतिक्रिया