गहुँमा कालो सिन्दुरे रोगको नयाँ प्रजाति फेला

४ हप्ता अगाडि

काठमाडौँ - नेपालमा गहुँबालीमा लाग्ने कालो सिन्दुरे रोगको प्रजाति यूजी ९९ को ‘टीटीकेटीटी’ पहिलो पटक पत्ता लागेको छ ।

 राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र, खुमलटारका वैज्ञानिकहरूले पहिलो पटक यो रोगको प्रजाति नेपालमा देखिएको पुष्टि गरेका हुन् ।
केन्द्रका प्रमुख सुरज वैद्यका अनुसार केन्द्रका वैज्ञानिकहरूले गत कार्तिक २२ गते दोलखाको दांगढुंगे र खरिढुंगाका क्षेत्रहरूमा गाईबस्तुको आहाराको लागि हरियो घाँसको रूपमा खेती गरिएको गहुँको बोटमा रोगको सर्वेक्षणका क्रममा यो प्रजाति भेटिएको हो । 

सो स्थानका दुई वटा गहुँबारीबाट संकलित नमुनालाई ग्लोबल रष्ट रिसर्च सेन्टर डेनमार्कको प्रयोगशालामा परीक्षण गर्दा टीटीकेटीटी नामक यूजी ९९ को प्रजाति देखा परेको वैद्यको भनाइ छ । यूजी ९९ को टिटिकेटिटि प्रजातिले अफ्रिकन देशहरूमा गहुँबालीमा करिब ८० प्रतिशत भन्दा बढी क्षति पुर्‍याएको पाइएको छ । हालसम्म दक्षिण तथा पूर्वी एसियाका देशहरूमा नदेखिएको यो प्रजाति नेपालमा देखिएकोले यो देशभित्र र बाहिर फैलिएमा भविष्यमा यो क्षेत्रका गहुँबालीमा ठूलो क्षति पुर्‍याउन सक्ने आङ्कलन नार्कका वैज्ञानिकहरूको छ । 

४ हप्ता अगाडि

प्रतिक्रिया