काठमाडौँ - बचतकर्ताको लाखौं रकम हिनामिना गरेको आरोप शुभसाइत बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरका उपाध्यक्षसहित तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष भद्रपुर- ८ निवासी सञ्जोक गिरी, संस्थाकी सचिव हल्दिबारी- ३ निवासी कञ्चन आचार्य र सदस्य भद्रपुर-७ निवासी दीपक खवास रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिएका छन्। फरार रहेका उनीहरूलाई मंगलबार पक्राउ गरिएको हो। कोशी प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इटहरीको पत्र अनुसार झापा जिल्ला अदालतको अनुमतिमा जिल्ला प्रहरी कार्यालय झापाले फागुन ३० गते सञ्चालक समितिविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। सोही दिनदेखि उनीहरू फरार थिए ।
संस्थाका अध्यक्ष भद्रपुर- ६ निवासी राजु भन्ने मदन श्रेष्ठ अझै फरार रहेको प्रहरी निरीक्षक गिरीले बताए। पक्राउ परेका उनीहरू माथि झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर आवश्यक अनुसन्धान सुरु गरिएको उनको भनाइ छ। सहकारीका पीडित शेयर धनी तथा बचतकर्ताहरूको संघर्ष समितिले फागुन १४ गते प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इटहरीमा रकम हिनामिना गरेको भन्दै सञ्चालक समितिविरुद्ध उजुरी दिएका थिए। रजिस्ट्रार कार्यालयले सोही उजुरी बमोजिम अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउनु भन्दै प्रहरी कार्यालय झापालाई पत्राचार गरेको थियो। सोही पत्राचार अनुसार प्रहरीले सहकारी शेयर सदस्यहरूले जम्मा गरेको शेयर पुजी र बचत रकम समिति वा सदस्य व्यवस्थापक वा कर्मचारीले हिनामिना एवं अपचलन गरेको मुद्दा दर्ता गराई कारबाही प्रक्रिया अघि बढाएको हो।
प्रतिक्रिया