किसानलाई तरकारीको बिउ वितरण

शुक्रबार, १६ चैत्र २०८०, १२ : ३२

काठमाडौँ - व्यावसायिक फलफूल खेतीका साथै किसान तरकारी खेती गर्नका लागि किसानलाई स्याउका बिरुवा, औजार र तरकारीको बिउ निःशुल्क प्रदान गरिएको छ  । 

सिमकोट गाउँपालिका–५ का किसान जय रावतले स्याउका बिरुवा, हजारी गार्डेन पाइप र तरकारीको बिउ सहयोग उपलब्ध भएको बताए। उनले आफू जस्तै छनोटमा परेका किसानले बिरुवा, बिउ र सामग्री निःशुल्क पाएको बताउँदै त्यसबाट व्यावसायिक खेतीतर्फ आफू लागेको बताए । आफ्नो जग्गामा खाल्डो खनेर तयार पारेपछि स्याउका बिरुवा पाउँदा लगाउन सजिलो भएको बताउँदै लगाएका बिरुवालाई पानी हाल्न पनि सहज भएको उनको भनाइ छ । सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले गाउँपालिकाभरिका १६० जना किसानलाई प्रतिकिसान ३० बोट स्याउ, १० प्रकारका तरकारीको उन्नत बिउ, हजारी र गार्डेन पाइप सहयोग गरिएको बताए । यो सहयोग पाउने सबै छनोट भएका बेरोजगार किसान रहेका छन् । 

फलफूल पकेट क्षेत्रको विकास गर्नका लागि ठुलो सङ्ख्यामा किसानलाई स्याउका बिरुवा सहयोग गरेर यसको व्यावसायिक खेती सुरु गर्न थालिएको उनले बताए । यसअघि स्याउका बिरुवा मात्र सहयोग गर्दा त्यसलाई संरक्षण गर्न कठिन भएको किसानको गुनासो आएपछि यस वर्षबाट हजारी र पाइप पनि सहयोग गरिएको हो । बेरोजगार किसानलाई चार हजार आठ सय स्याउका बिरुवा सहयोग गरिएको छ । स्याउका बिरुवा लगाएको जग्गामा तरकारी खेती गर्नका लागि बिउ सहयोग गरिएको उनले बताए । स्याउका बिरुवाबाट कम्तीमा पाँच वर्षपछि मात्र फल आउने भएको कारण उक्त जग्गामा तरकारी खेती गरेर पनि किसानले आम्दानी गर्न सकोस् भन्नका लागि बिउ वितरण गरिएको बताए। 

शुक्रबार, १६ चैत्र २०८०, १२ : ३२

प्रतिक्रिया