किसानलाई तरकारीको बिउ वितरण

४ हप्ता अगाडि

काठमाडौँ - व्यावसायिक फलफूल खेतीका साथै किसान तरकारी खेती गर्नका लागि किसानलाई स्याउका बिरुवा, औजार र तरकारीको बिउ निःशुल्क प्रदान गरिएको छ  । 

सिमकोट गाउँपालिका–५ का किसान जय रावतले स्याउका बिरुवा, हजारी गार्डेन पाइप र तरकारीको बिउ सहयोग उपलब्ध भएको बताए। उनले आफू जस्तै छनोटमा परेका किसानले बिरुवा, बिउ र सामग्री निःशुल्क पाएको बताउँदै त्यसबाट व्यावसायिक खेतीतर्फ आफू लागेको बताए । आफ्नो जग्गामा खाल्डो खनेर तयार पारेपछि स्याउका बिरुवा पाउँदा लगाउन सजिलो भएको बताउँदै लगाएका बिरुवालाई पानी हाल्न पनि सहज भएको उनको भनाइ छ । सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले गाउँपालिकाभरिका १६० जना किसानलाई प्रतिकिसान ३० बोट स्याउ, १० प्रकारका तरकारीको उन्नत बिउ, हजारी र गार्डेन पाइप सहयोग गरिएको बताए । यो सहयोग पाउने सबै छनोट भएका बेरोजगार किसान रहेका छन् । 

फलफूल पकेट क्षेत्रको विकास गर्नका लागि ठुलो सङ्ख्यामा किसानलाई स्याउका बिरुवा सहयोग गरेर यसको व्यावसायिक खेती सुरु गर्न थालिएको उनले बताए । यसअघि स्याउका बिरुवा मात्र सहयोग गर्दा त्यसलाई संरक्षण गर्न कठिन भएको किसानको गुनासो आएपछि यस वर्षबाट हजारी र पाइप पनि सहयोग गरिएको हो । बेरोजगार किसानलाई चार हजार आठ सय स्याउका बिरुवा सहयोग गरिएको छ । स्याउका बिरुवा लगाएको जग्गामा तरकारी खेती गर्नका लागि बिउ सहयोग गरिएको उनले बताए । स्याउका बिरुवाबाट कम्तीमा पाँच वर्षपछि मात्र फल आउने भएको कारण उक्त जग्गामा तरकारी खेती गरेर पनि किसानले आम्दानी गर्न सकोस् भन्नका लागि बिउ वितरण गरिएको बताए। 

४ हप्ता अगाडि

प्रतिक्रिया