२१ दिनमा एउटै फार्मका दुई सय ८० बाख्रा मरे

१ महिना अगाडि

काठमाडौँ - मादी गाउँपालिका- १२ स्थित  नारायणप्रसाद बरालले सञ्चालन गरेका स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्मका बोयर जातका बाख्रा तीन सातामा निमोनियाका कारण  बाख्रा  दुई सय ८० बाख्रा मरेका छन् ।

बरालले पछिल्ला २० दिनमा अधिकांश बाख्रा मरेर खोर रित्तै भएको र अहिले तीन वटामात्र बाँकी रहेको जानकारी दिए । बाख्रामा सुरुआतमा घाँस, दाना, पानी नखाने, सिगान बगाउने लगायतका लक्षण देखा परेको बताइन्छ । सुरुवातमा गत पुसमा केही बाख्रा बिरामी भएपछि औषधि गरेर निको भए पनि अहिले पछिल्लो दुईदेखि तीन सातामा सबै बाख्रा मरेको बरालले बताए । ‘सुरुमा पुस अन्तिमतिर केही बाख्राले नाकबाट सिगान बगाउने, घाँसपानी नखाने, झोक्रयाउने भएपछि गाउँपालिकाका पशु प्राविधिकलाई बोलाएर उपचार गरेपछि ठीक भएका थिए’, बरालले भने, ‘तर अहिले पुनः पहिलाकै समस्या देखियो र बीस दिनमा सबै बाख्रा मरे ।’

बरालले बाख्रा मर्न थालेपछि प्राविधिकलाई बोलाएर उपचार गर्दासमेत कम नभएको बताए । पशु प्राविधिकले रोग पत्ता लगाउनका लागि ल्यावमा परीक्षण गर्दा क्रोनिक निमोनिया पुष्टि भएको थियो । थप क्षति हुन नदिनका लागि इन्जेक्सन लगाएको भए पनि काम नगरेको बरालले बताए । बरालले रोगका कारण ठूलो सङ्ख्यामा बाख्रा मरेपछि अनुमानित डेढ करोड क्षति पुगेको उल्लेख गरे । बरालले केही बाख्रोको बीमा गरेपनि तीन महिनाभन्दा साना पाठापाठीको नभएको जानकारी दिए । पेसाले शिक्षक बरालले वि।सं २०७४ देखि व्यावसायिक रूपमा बाख्रापालन व्यवसाय गर्दै आएका थिए । बाख्रासँगै उनले कुखुरापालन गरेका छन् । बरालले गत वर्ष बाख्रापालनबाट ३८ लाखको आम्दानी गरेकामा यसवर्ष ५० लाखको बिक्री गर्ने योजना बनाएका थिए ।

‘सानो उमेरदेखिनै कृषि गर्ने चाहनाले बाख्रा र कुखुरा पाल्न सुरु गरेँ । अहिले एकाएक सबै सकियो, ठूलो क्षति हुँदा धेरै पीडा भएको छ’, बरालले भने । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले मरेका पशुको प्रयोगशालामा ल्याएर थप परीक्षण भइरहेको जानकारी दिए । हालसम्म निमोनियाका कारणले क्षति पुगेको भए पनि अन्य कारणसमेत खोजी भइरहेको पाण्डेले बताए । ‘विज्ञ केन्द्रमा समेत ढिला गरी जानकारी आएको थियो । त्यसपछि हामीले रोग नियन्त्रणका लागि केन्द्रबाट र प्रयोगशालाबाट समेत पशु चिकित्सकलाई पठाएर परीक्षण गरेका हौँ । धेरै ढिला भएकाले उपलब्धि भएन’, उनले भने । सो वडाका अध्यक्ष कृष्णराज दाहालले बरालद्वारा सञ्चालित बाख्रा फार्म पालिकाकै नमुना भएको भन्दै उक्त क्षतिले आफूहरूलाई समेत दुखित बनाएको बताए । पीडित किसानलाई राहतका लागि पालिका, प्रदेश सरकार लगायतसँग पहल गरिने दाहालले बताए ।
 

१ महिना अगाडि

प्रतिक्रिया