ताजा समाचार

सरकारी ऋणपत्र अब सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हेर्ने

सोमबार, १९ चैत्र २०८०, १२ : २६

काठमाडौँ - नेपाल सरकारको ट्रेजरी बिल र विकास ऋणपत्रको बोलकबोल तथा निष्कासन अब ऋण व्यवस्थापन कार्यालयले नै हेर्ने भएको छ। 

सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ तथा सार्वजनिक ऋण व्यवस्थापन नियमावली, २०८० कार्यान्वयनमा आइसकेकाले नेपाल सरकारको आन्तरिक ऋणसँग सम्बन्धित ऋणपत्र निष्कासन तथा भुक्तानी ऋण व्यवस्थापनका कार्यालयबाटै हुने कार्यालयले जनाएको हो । यस अघि यस्तो ऋणपत्र तथा बण्डहरुको निष्कासन तथा व्यवस्थापन केन्द्रीय बैंकमार्फत हुँदै आएको थियो । तथापि, यस्तो कारोबार नेपाल राष्ट्र बैंकसँगको समन्वयमा ऋण सापटी तथा भुक्तानीको कार्य सम्पादन कार्यालयबाट हुने बताइएको छ । चैत १९ गतेदेखि ऋणपत्र निष्कासन तथा व्यवस्थापनको जिम्मेवारी दिएको कार्यालयले आजै १३ अर्ब ५ करोड रुपैयाँ बराबरको ऋणपत्र (ट्रेजरी बिल) बोलकबोल गर्दैछ । 

९१ दिने र १८२ दिने गरी दुई किसिमको ट्रेजरी जारी गर्न लागेको कार्यालयले ९१ दिनका लागि ७ अर्ब ७५ करोड रुपैयाँ र १८२ दिनका लागि ५ अर्ब ३० करोड छुट्टाएको छ । तथापि, उक्त ट्रेजरी नयाँ नभएर पुरानै नवीकरण गर्न लागिएको कार्यालयले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । आज ३ बजे बोलकबोल हुने ट्रेजरी बिल भोलि मंगलबार जारी गरिने बैंकले जनाएको छ । 

सोमबार, १९ चैत्र २०८०, १२ : २६

प्रतिक्रिया