अवैधरुपमा कुखुरा भित्रिँदा व्यवसायी मारमा

१ महिना अगाडि

काठमाडौं - नेपाल–भारत मुख्य नाका जमुनाहबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि अवैधरुपमा भित्रि बाटो प्रयोग गरी भारतीय कुखुरा, चल्ला तथा अण्डा आयात हुने गरेकोे व्यवसायीले गुनासो गरेका छन् ।

कुखुरा व्यवसायी सङ्घ बाँकेका पूर्वअध्यक्ष लालबहादुर खत्रीले नेपाली बजारको तुलनामा भारतमा कुखुराको मूल्य कम हुने भएकाले बढी नाफा कमाउन व्यापारीले चोरीको बाटो प्रयोग गर्दै आएको बताए । उनका अनुसार नेपालगञ्ज, खजुरा र कोहलपुरका मुख्य स्थानमा भारतबाट अवैधरुपमा आयात भएका कुखुरा र माछा बिक्रीवितरण हुँदै आएका छन् ।रातिको समयमा माछा, मासु तस्करी गर्ने सक्रिय हुने भएकाले बिहानसम्म पसलपसलमा भारतीय कुखुरा र माछा पुग्ने गरेको खत्रीको भनाइ छ । सबैभन्दा बढी जानकी गाउँपालिका–१ साइगाउँ र खजुरा गाउँपालिका–१ राधापुर क्षेत्रबाट ठूलो परिमाणमा अवैधरुपमा मासुजन्य सामग्रीको तस्करी हुने गरेको उनले बताए ।

चालु आर्थिक वर्षको आठ महिनामा अवैधरुपमा नेपाल भित्रिएको रू ५० लाख ३९ हजार ४ सय ५० बराबरको कुखुराको मासु र अण्डा सीमा क्षेत्रबाट बरामद गरिएको सशस्त्र प्रहरी बल नं ३० बागेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए । उनका अनुसार चालु आवको फागुन मसान्तसम्म २५ लाख ४२ हजार रुपैयाँ मूल्य पर्नेछ हजार ३ सय ५६ रुपैयाँ किलो कुखुरा, ६ लाख ४३ हजार ३ सय रुपैयाँको एक हजार छ सय किलो कुखुराको मासु, १८ लाख ५२ हजार रुपैयाँ मूल्यपर्ने २३ हजार एक सय ५० वटा चल्ला र १ हजार ४ सय रुपैयाँ पर्ने चार क्यारेट अण्डा बरामद गरिएको छ ।

भारतमा विभिन्न समयमा फैलिएको बर्डफ्लूलगायत पन्छीजन्य रोग भित्रिने जोखिम भएकाले सरकारले भारतीय कुखुराजन्य सामग्री आयातमा प्रतिबन्ध लगाएको छ । भारतमा कुखुराजन्य सामग्रीको मूल्य नेपालमाभन्दा सस्तो हुने भएकाले बढी नाफाका लागि मासु व्यवसायीले भारतीय कुखुराजन्य सामग्री बिक्रीवितरण गर्ने गरेका कुखुरापालक किसान बताउँछन् । भारतबाट अवैधरुपमा भित्रिएको ठूलो परिमाणका कुखुरा सीमासुरक्षामा खटिएको सशस्त्र प्रहरीले पक्राउ गर्दै आए पनि तस्करी रोकिएको छैन् ।
 

१ महिना अगाडि

प्रतिक्रिया