‘नाइट–२०२४’ को मिति सर्‍यो

१ महिना अगाडि

काठमाडौँ - नेपालमा पर्यटन सम्बन्धी मेगा इभेन्ट आयोजना गरेर नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न उद्देश्यले समिट इभेन्ट्स एण्डमार्केट्सको आयोजना, नेपाल   पर्यटन बोर्डको प्रवर्द्धन एवं विभिन्न सङ्घ संस्थाहरूको सहकार्यमा काठमाडौँमा आयोजना हुन गइरहेको नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो (नाइट-२०२४) को मिति परिवर्तन भएको छ । 

भारतमा हुन लागेको आसन्न निर्वाचनको कारण आवागमन बन्द रहने तथा कतिपय नेपाल भारत सीमा समेत बन्द रहने हुनाले भारत तथा भारत हुँदै नेपाल आउने विभिन्न देशका क्रेता तथा अन्य सहभागीहरुलाई नेपाल आउन कठिनाइ हुने देखिएपछि आयोजकले मिति परिवर्तन गरेको हो । आगामी जुन १ मा भारतको  कोलकाता, वाराणसी र बिहारमा निर्वाचन रहेको र मे २९ तारिखबाट सीमा नाका बन्द रहने भएकोले सबै सरोकारवालाहरूको सहभागिता र सुविधा सुनिश्चित गर्न कार्यक्रमको मिति परिर्वतन गरिएको समिटइभेन्ट्स एण्ड मार्केट्सका संस्थापक विष्णु पाण्डेले जानकारी दिए ।

यसअघि नाइट-२०२४ को आयोजना मे ३१ र जुन १ तारिखमा काठमाडौँ को भृकुटीमण्डपमा आयोजना गर्ने भनिएको थियो । तर, प्राविधिक कारणलाई हेरी उक्त कार्यक्रम आगामी जुन १४ र १५ मा आयोजना गर्नेगरी मिति परिवर्तन गरिएको आयोजकले जनाएको छ ।  नेपाल इन्टरनेशनल टुरिज्म एक्स्पोले नेपालको समृद्ध प्राकृतिक र सांस्कृतिक सम्पदालाई हाइलाइट गर्दै विश्वपर्यटन समुदायभित्र अर्थपूर्ण सम्बन्ध र सहकार्यलाई प्रवर्द्धन गर्दै एउटा प्रमुख कार्यक्रम हुने लक्ष्य लिएको छ । नाइट एस्कपोमा २५० भन्दा बढी होस्ट गरिएका खरिदकर्ताहरू, एक हजारभन्दा बढी ट्रेड आगन्तुकहरू, र १३० भन्दा बढी प्रदर्शकहरू सहित नेपाल, भारत, चीन, हङकङ, श्रीलंका, भुटान, बंगलादेश, माल्दिप्स, भियतनाम, थाइल्याण्ड, इन्डोनेसिया, मलेसिया, दुबई, टर्की, फिलिपिन्स र अजरबैजान गरी १६ भन्दा बढी देशहरूका प्रदर्शकहरूको सहभागिता रहने बताइएको छ । 

एक्स्पोमा ट्राभल एजेन्सी, होटल, एयरलाइन्स, टुर अपरेटर लगायतका विभिन्न क्षेत्रका प्रदर्शकहरूको सहभागिता रहने पाण्डेले जानकारी दिए । नेपाल पर्यटन बोर्ड प्रर्वद्धक तथा ह्याम्स अस्पताल हेल्थ पार्टनर, र सफट होलिडेज टान्सपोर्ट  पार्टनरका रुपमा रहेको नाइट २०२४ ले नेपालको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय बिटुबी (बिजनेस टू बिजनेस) र बीटुसी (बिजनेस टू कर्पोरेट) पर्यटन प्रदर्शनी बन्ने आयोजकले लक्ष्य राखेको छ । जसले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन सरोकारवालाहरूलाई दुई दिने नेटवर्किङका लागि एकसाथ ल्याउने, नयाँ सहकार्यलाई बढावा दिने र दिगो साझेदारी स्थापना गर्ने लक्ष्य राखेको छ । 

१ महिना अगाडि

प्रतिक्रिया