च्याउको उपभोग दर घट्दा किसान मारमा

१ महिना अगाडि

काठमाडौँ -  पछिल्लो समय च्याउको मूल्यमा केही सुधार भए पनि किसानले लागत उठाउन सकेका छैनन् । 

च्याउको उत्पादन वृद्धि भए पनि बजार घटेकाले किसान मारमा परेका हुन् ।च्याउ उत्पादन किसान संघ नेपालका कोषाध्यक्ष विनोद पौडेलले गत वर्षको तुलनामा च्याउको बजार घटेको बताए । ‘काठमाडौँ उपत्यकामा गत वर्ष यो सिजनमा दैनिक १० हजार किलोभन्दा बढी च्याउ बिक्री भएको थियो,’ उनले भने, ‘हाल त्योभन्दा कम बिक्री भइरहेको छ ।’पौडेलले च्याउ उत्पादनमा किसानको आकर्षण बढे पनि बजार घटेकाले लागत उठाउन नसकेको उल्लेख गरे । उनले रातोपाटीसँग भने, ‘मान्छेसँग पैसा नभएर च्याउ किनेर खान छोडेका छन् । होटेल, रेष्टुरेन्टमा पनि मसरुम सुप, मसरुम स्टिक, मसरुप पकौडा लगायत च्याउका परिकार कम पाक्छ ।’पौडेलका अनुसार गत वर्षको तुलनामा २० देखि २५ प्रतिशतले च्याउको उत्पादन बढेको छ । तर बजार भने २० देखि २५ प्रतिशतले नै घटेको उनले सुनाए । ‘बजार स्थिर भएको भए उत्पादन लागत उठ्थ्यो होला,’ उनले भने, ‘तर उल्टो भयो । उत्पादन बढ्यो, बजारको माग पनि घट्यो ।’

पौडेलले पछिल्लो समय च्याउको लागत पनि बढेको उल्लेख गरे । ‘लेबर कस्ट, बिउको मूल्य, ढुवानी खर्च बढेको छ,’ उनले भने, ‘गत वर्ष बिउ बनाउनका लागि ३८ रुपैयाँ प्रतिकिलो पाइने गहुँ हाल ४० देखि ४५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।’बजारमा कन्ये च्याउको होलसेल मूल्य एक सयदेखि १ सय ३० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ । यस्तै, डल्ले च्याउ २७० देखि २८० रुपैयाँ प्रतिकिलो होलसेलमा बिक्री भइरहेको च्याउ उत्पादन किसान संघ नेपालका सह-अध्यक्ष सीताराम तिमिल्सिनाले बताए । काठमाडौँ उपत्यकामा मात्रै कन्ये च्याउ १५ देखि २० हजार किलो दैनिक माग रहेको उनले उल्लेख गरे ।नेपालमा च्याउ उत्पादन प्रशस्त भए पनि बजार अभावका कारण व्यवसाय फस्टाउन नसकेको उनको गुनासो छ ।संघका अनुसार २०७६ सालमा गरिएको एक अध्ययन अनुसार ८० प्रतिशत स्वदेशी च्याउ र २० प्रतिशत आयातित च्याउ खपत भएको थियो । नेपालका च्याउ किसानको लगानी करिब ७ अर्ब पुगेको छ । वार्षिक १० अर्बको च्याउको कारोबार हुने गरेको छ । नेपालमा दैनिक ५० हजार किलो च्याउ खपत हुने गरेको संघको अनुमान छ ।

१ महिना अगाडि

प्रतिक्रिया