काठमाडौँ - बुधबार राति बेलबारी-१० नारायणचौकको झलझली बचत तथा ऋण सहकारी संस्थाको गेट र भित्रको झ्याल फुटाएर सहकारीको ३५ हजार पाँच सय रुपियाँ चोरी भएको छ ।
मोरङमा पुस यता लगातार सहकारी संस्था चोरी भइरहेका छन् । गत शुक्रबार राति बेलबारी ३ सहकारीमार्गमा रहेका जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड र लालिगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरी प्रयास भएको थियो ।एउटै भवनको तल्लो तलामा रहेको जिल्ला सङ्घको उत्तर तर्फको झ्यालको ग्रील निकालेर चोर भित्र पसे पनि चोरले पैसा लान सकेको थिएन । जिल्ला सङ्घका अध्यक्ष प्रेमप्रकाश कोइरालाले भने, ‘‘व्यवस्थापकको सावधानीका कारण नगद क्षति भएन । तर भौतिक क्षति भइको छ । सबै कोठाका दराजको ताला फोरेर पैसा खोजि भएको देखिन्छ । चोरले सिसिटीभिको डिभिआर भने उक्काएर लगेको छ । सोही दिन जिल्ला सङ्घको माथिल्लो तलामा रहेको लालिगुराँस साकोसमा पनि चोरी प्रयास भएको थियो ।’’अध्यक्ष दुर्गाप्रसाद गौतमले चोर भल्टसम्म पुगे पनि भल्ट फुटाउन नसकेर नगद क्षति नभएको बताए ।
पुस १२ गते यता मोरङमा बचत ऋण सहकारी संस्थामा भएको चोरीको यो घटना नवौं हो । कानेपोखरी ७ को जनमुखी बचत तथा ऋण सहकारी संस्था लि।बाट पुस १२ गते राति ४ लाख १४ हजार ८०१ रुपियाँ, माघ २९ गते राति कानेपोखरी–६ को आदर्श बचत तथा ऋण सहकारी संस्था लि।बाट ९३ हजार ९६० रुपियाँ,पथरीशनिश्चरे ८ को सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्थाबाट फागुन २ गते चार लाख ७६ हजार १६६ रुपियाँ चोरी भएको थियो । सबै घटनाको प्रकृति एउटै रहेको प्रहरीको भनाइ छ । यस्तै फागुन १५ गते राति लेटाङ-२ फडानी स्थित एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाबाट १२ लाख ८१ हजार ३० रुपियाँ चोरी भएको थियो ।
सहकारी संस्थाको मुख्य कार्यालयसँगै रहेको गोदावारी सेवाकेन्द्र र खैरेनी सेवाकेन्द्रबाट एउटै समयमा चोरी भएको थियो । खैरेनी सेवा केन्द्रबाट ३ लाख ९० हजार ५८५ रुपियाँ र मुख्य कार्यालयसँगै रहेको गोदावारी सेवाकेन्द्रबाट आठ लाख ९० हजार ४४५ रुपियाँ चोरी भएको थियो । दुबै सेवाकेन्द्रको मुख्य ढोका सहितका ताला फोडेर चोरी भएको थियो । बेलबारी ८ राधानगरको जनप्रेमी साकोसमा पनि आक्रमण भएको थियो । तर, त्यहाँबाट भने चोरले रकम लान सकेको थिएन ।
प्रतिक्रिया