स्वास्थ्य बीमा बोर्डद्दारा ६अर्ब भुक्तानी

३ हप्ता अगाडि

काठमाडौँ - स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा बीमा प्रदायक कम्पनीलाई ६ अर्ब रकम भुक्तानी गरेको छ ।

 शुक्रबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई ६ अर्ब ४४ करोड १६ लाख ९९ हजार  ७५५ रुपैयाँ भुक्तानी गरेको जानकारी दिएको हो । बोर्डसँग हाल ३ अर्ब ८४ करोड ८८ लाख ६९ हजार ६९१ रुपैयाँ मौज्दात छ । बोर्डका अनुसार  हालसम्म ३५.८८ प्रतिशत अर्थात २३ लाख ९२ हजार ६७६ परिवारले स्वास्थ्य बीमा गरेका छन् । कार्यक्रममा २६.५४ प्रतिशत अर्थात ७७ लाख ४१ हजार ४८३ जनाले बीमा गरेको जानकारी दिइयो । त्यस्तै ३६ लाख ५२ हजार ४३२ जनाले बिमाबाट उपचार सेवा लिएको बोर्डले जनाएको छ । बीमा गर्नेको सङ्ख्या अझै बढाउनुपर्ने बोर्डका अध्यक्ष डा। गुणराज लोहनीले बताए । ‘औपचारिक क्षेत्रमा बिमितको सङ्ख्या बढाउनुपर्ने देखिएको छ,’ उनले भने, ‘आगामी दिनहरूमा सामाजिक सुरक्षा सेवा प्रदान गर्दा अनिवार्य बीमा आबद्ध कार्डको प्रयोग गरियो भने यो सङ्ख्या बढ्छ ।’

डा.लोहनीले सरकारी निकायबाट दिइने बीमा सुविधामा धेरैलाई समावेश गरेमा बिमामा एकद्वार प्रणाली लागू गर्न सहज हुने दाबी गरे । ‘हाल बिमाका कार्यक्रमहरु छरिएर रहेका छन्,’ उनले भने, ‘ती सबैलाई एकद्वार प्रणाली ल्याउनका लागि स्वास्थ्य बिमामा अनिवार्य सहभागिता हुनै पर्छ ।’हाल स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्ला र ७५२ स्थानीय तहमा पुगेको  छ ।  बाँकी रहेको काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा पनि छिट्टै कार्यक्रम लागू गरिने बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले बताए । स्वास्थ्य बीमा कार्यक्रम विस्तारले पूर्णता प्राप्त गरे पनि सुदृढीकरण र दिगो व्यवस्थापनका लागि चुनौतीहरू रहेको बोर्डका सदस्य डा. मुक्तिराम श्रेष्ठले बताए ।

‘स्वास्थ्य बीमा कार्यक्रमले पूर्णता पाए पनि हामीसँग थुप्रै चुनौतीहरू छन्,’ उनले भने, ‘ गुणस्तरीय औषधिदेखि बिमामा समावेश भएका औषधि पाउन नसकेको गुनासाहरू छन्, यसलाई हामीले आगामी दिनहरूमा सुधार गर्दै जानेछौँ ।’बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई अनलाइन प्रणालीबाट सञ्चालन गर्ने तयारीको कामलाई अगाडी बढाइएको, सेवा प्रदायक स्वास्थ्य संस्थाहरूबाट पेस भएका दाबीहरूलाई एक स्वतन्त्र दाबी पुनरावलोकन समिति बनाई पुनरावलोकन गरिएको, एक पटक प्रेषण भई आएका बिरामीहरूलाई सोही रोगको फलोअपका लागि पुनः प्रेषण पुर्जी लिइरहन नपर्ने गरी व्यवस्था गरिएको बोर्डका सदस्य श्रेष्ठले बताए ।स्वास्थ्य बीमा कार्यक्रममा सहभूक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० तयार गरी लागू गरिएको पनि उनले बताए । बीमा बोर्डले आगामी आइतबार (चैत २५ गते)आठौँ स्वास्थ्य बीमा दिवस मनाउँदै छ । ललितपुरको जवलाखेलस्थित स्टफ कलेजमा दिवस मनाउने तयारी भइरहेको बोर्डले जनाएको छ । 

३ हप्ता अगाडि

प्रतिक्रिया