पाथीभरामा केवलकार निर्माणका लागि आज शक्ति प्रदर्शन

३ हप्ता अगाडि

काठमाडौँ - पाथीभरामा केवलकार निर्माणका लागि दवाव सिर्जना गर्दै आज  शक्ति प्रदर्शन गरिएको छ । 

नागरिक समाजको तर्फबाट ५ सय एक सदस्यीय दबाव समुह निर्माण गरेर शक्ति प्रदर्शन गरिएको हो । पाथीभरा लिम्वूहरुको मुन्धुमीस्थल भएकाले निर्माण गर्न नहुने भन्दै अवरोध सृजना भइरहेको बेला पदम चेञ्जी मावो लिम्वू संयोजक र प्रकाश मादेन लिम्वू सहसंयोजक रहेको केवलकार निर्माण सहयोग समिति गठन गरिएको छ । शनिबार लिम्वू समुदायमा बजाइने च्याब्रुङ, लिम्वू बिजुवाहरुको झाँक्री, नौमती प्रस्तुत गर्दै नगर परिक्रमा गरिएको थियो । र्‍यालीमा फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा लगायतका जनप्रतिनिधि पनि सहभागी थिए । र्‍यालीलाई सम्वोधन गर्दै संविधान सभाका सदस्य एबं एमाले जिल्ला कमिटी अध्यक्ष भुपेन्द्र थेवेले प्रविधिको युगको बिकास भइरहँदा र समाज आधुनिकतातर्फ उन्मुख रहेको बेला यस्ता अवरोधहरु सृजना हुन नहुने र समझदारी कायम गर्नुपर्ने वताए ।

फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले वुढापाका, वालवालिकाका लागि सहज हुने र आम नागरिकको माग केवलकार भएकाले निर्माणमा अवरोध गर्न नहुने र निर्माणको वातावरण राज्यले वनाउनु पर्नेमा जोड दिए । निर्माण अनुमति दिँदासम्म कोही कसैले विरोध नगर्ने अहिले अध्ययन लगायतमा करोडौं खर्च भएपछि बिरोध गर्नु उचित नहुने नगर प्रमुख मादेनको तर्क छ । मादेनले पाथीभरालाई किरॉतहरुको धार्मिक स्थल भनिएपनि त्यो नभएको दाबी गरे । ‘महागुरु फाल्गुनन्द अहिंसावादी हुनुहुन्थ्यो, हत्या हिंसा गर्नुहुॅदैन भनेर अभियान चलाउने अभियन्ता हो, उहाँलाई राज्यले राष्ट्रिय विभुतिपनि घोषणा गरेको छ,’ मादेनले थपे, ‘पाथीभरा उत्पत्ति देखिनै भोग खाने देवी हो, अहिले किराँत धर्मावलम्वी हाम्रो मुन्धुमीस्थल हो भन्छन्, काटमार भएको वली दिएको ठाउँ कसरी किराँत धर्मावलम्वीको हुनसक्छ ?’

आधुनिक समयको विकासमा अवरोध सृजना नगर्न मादेनले आग्रह गरे । हिडेर जानेका लागि पैदलमार्ग राम्ररी बनाउने र केवलकारमा जानेका लागि पनि अवसर दिनुपर्ने उनको तर्क छ । गृह मन्त्रालयले निर्माणस्थलमा सशस्त्र प्रहरीको बेसक्याम्प राख्ने निर्णय गरेर पनि नराखेकोमा मादेनको आपत्ति छ । ‘मन्त्रिपरिषदले निर्माणस्थलको जग्गा दिएको छ, कम्पनीले त्यो वापतको जग्गा सरकारलाई फिर्तापनि गरेको छ,’ मादेनले भने, ‘अनुमति दिन्छ अनि सुरक्षाचाँहि दिदैन, उद्यमीहरुले कसरी लगानी गर्ने ।’ सरकारले सुरक्षा देओस् र राज्यको सुरक्षामा सहज निर्माण होस् भनेर आफूहरु मौन बसेको निर्माण सहयोग समितिका पदम लिम्वू बताउँछन् । एक दुईजनाले बिरोध गर्दा सरकार पछि हट्ने हो भने आफूहरु अगाडि बढेर निर्माणमा सहयोग गर्ने उनले चेतावनी दिए । उद्योग वाणिज्य संघ, निर्माण ब्यवसायी संघ, होटल ब्यवसायी संघले निर्माणका लागि वातावरण बनाउन सरकारलाई यसअघिनै विज्ञप्ति मार्फत आग्रह गरेका छन् ।

३ हप्ता अगाडि

प्रतिक्रिया