सडक कालोपत्रे नभए अनशन बस्ने वडाध्यक्षले दिए चेतावनी, २१ दिनको अल्टिमेटम

३ हप्ता अगाडि

काठमाडौँ-  काभ्रेको पनौती–खोपासी सडकको पनौती–क्लबघर खण्ड वर्षौँदेखि पिच नगरेर स्थानीयले भोगनुपरेको सास्ती र जनप्रतिनिधिले गाली खानुपरेकोे विषयलाई मध्यनजर गरेर उक्त सडक छिट्टो भन्दा छिटो कालोपत्रे गर्न माग गर्दै पनौती नगरपालिका– १० का वडाध्यक्ष मोहन बहादुर भण्डारीले अनशनको चेतावनी दिएका छन्। 

वर्षौँदेखि चार किलोमिटर सडकखण्ड पिच नगरेको भन्दै वडाध्यक्षले तीन हप्ताभित्र स्रोत सुनिश्चित गरेर काम सुरु गर्न अल्टिमेटम समेत दिएका हुन्  । बनेपा–पनौती–खोपासी–तालढुंगा सडकमा पर्ने पनौती–खोपासी–क्लबघर सडकखण्डलाई तीनै तहको सरकारले बेवास्ता गरेको उनको आरोप छ।

Screenshot_20240407_164933_Lite

उक्त सडकको पनौती– ७ तर्फ र बेथानचोकतर्फ पिच भइसके पनि पनौती– ९ र १० मा पर्ने भागलाई बेवास्ता गरिएको उनको भनाइ छ। सडकखण्डको चारैतर्फको सहायक सडक पिच भएको, तर डाँडापारि जाने सडकको पनौती खण्डमा पिच नहुँदा सबैले जनप्रतिनिधिहरूलाई गाली गर्ने गरेको वडाध्यक्ष भण्डारीले आजको अर्थलाई बताए। ‘पनौतीको बजारतर्फ पिच छ, सुनथानबाट आउने सडक पिच छ, रोशीतर्फ र बेथानचोकतर्फ पनि पिच छ। बीचको भाग पिच नहुँदा स्थानीयले सास्ती र जनप्रतिनिधिले गाली खानुपरेको छ,’ भण्डारीले भने।

२१ दिनभित्र पिच नभए वैशाख १६ देखि पनौति बसपार्कको पुलको मुखमा आमरण अनशन बस्ने र यसमा आफ्नो जिवनै त्याग गर्न परेपनि गर्ने अध्यक्ष भण्डारीको चेतावनी छ। ‘म तीनै तहको सरकारलाई अनुरोध गर्छु कि अविलम्ब पिच होस्। २१ दिनभित्र पिच नभए २२औँ दिन वैशाख १६ गते आमरण अनशन बस्नेछु। त्यसको जवाफदेही सम्बन्धित निकाय हुनेछ,’ उनले भने।

उनका अनुसार प्रदेशअन्तर्गतको सडक भएको कारण वडा र नगरले बजेट विनियोजन गर्दा अपर्याप्त हुने भएकाले प्रदेश वा संघीय योजनामा पर्ने भन्दै स्थानीय धैर्य रहँदै आएका थिए। काभ्रेका प्रदेश सभा सदस्यसमेत रहेका पूर्वमन्त्री तीर्थ लामाले पहल गर्दै सो सडकका लागि १४ करोड ४६ लाख बजेटको व्यवस्था भएको भने पनि अहिलेसम्म बोलपत्र आह्वान भएको छैन।

यस विषयमा बुझ्न त्यस क्षेत्रका संघिय सांसद् सुर्यमान दोङ (लालध्वज) कुरा गर्दा उनले सडक कालोपत्रेको टेन्डरको प्रक्रिया अन्तिम चरणमा पुगिसकेको र छिट्टै काम हुने बताएका छन् । 

यो सडक काभ्रेबाट प्रदेशको राजधानी हेटौडा पुग्ने सबैभन्दा छोटो बाटो समेत हो । 

 

३ हप्ता अगाडि

प्रतिक्रिया