पाल्पाका किसानले पाए उत्पादनमा अनुदान

३ हप्ता अगाडि

काठमाडौँ - पाल्पा  जिल्लाका कृषि, पशु तथा उत्पादनका क्षेत्रमा काम गरेका २६ वटा सहकारी संस्थाले उत्पादनका आधारमा अनुदान पाएका छन् ।

उनीहरूले गत आव २०७९\०८० मा उत्पादन गरेको दुध र मासुको अनुदान पाएका हुन् । स्थानीय तहले दिएको अनुदानमा दोहोरो नपर्ने गरी जिल्लाभरका २६ वटा सहकारीहरूलाई ९४ लाख ४० हजार ८४० रुपियाँ भुक्तानी गरिएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाले जनाएको छ । केन्द्रका अनुसार लुम्बिनी प्रदेश सरकारको चालु आवको योजना अनुसार दुध र बोका खसीको मासुमा अनुदान दिइएको हो । केन्द्रका अनुसार दुधमा प्रतिलिटर दुई रुपियाँका दरले १० वटा सहकारीलाई १६ लाख दुई हजार ९४३ रुपियाँ भुक्तानी गरिएको छ । यस्तै, बोका र खसीको मासुको प्रतिकिलो २५ रुपियाँका दरले ७८ लाख ३७ हजार ८९७ रुपियाँ भुक्तानी गरिएको केन्द्रका प्रमुख दुर्गाप्रसाद खनालले जानकारी दिए। उनले भने, ‘‘स्थानीय तहले भुक्तानी दिएको नदिएको प्रमाणपछि दोहोरो नपर्ने गरी मासु र दुधमा प्रतिफलमा आधारित अनुदान वितरण गरेका छौँ ।’’

केन्द्रका अनुसार १६ वटा सहकारीबाट खसीबोकाका तीन लाख ३५ हजार किलो मासुलाई अनुदान दिइएको छ । यस्तै १० वटा दुग्ध सहकारीमार्फत आठ लाख एक हजार लिटर दुध सङ्कलन भएको रेकर्ड प्राप्त भएको केन्द्रका पशु चिकित्सक नविन बस्यालले बताए । पाल्पाको तिनाउ, रिव्दीकोट, माथागढी, पूर्वखोला, बगनासकाली गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिँदै आएका छन् । प्रदेश सरकारले दिनेभन्दा बढी अनुदान पालिकाले दिएको बस्यालले बताए । स्थानीय तहहरूले मासुमा प्रतिकिलो ५० रुपियाँसम्म र दुधमा १० रुपियाँसम्म अनुदान दिँदै आएका छन् ।

३ हप्ता अगाडि

प्रतिक्रिया