सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान नगर्दा समस्या झन् बल्झिँदै गएको हो :अध्यक्ष ढकाल

२ हप्ता अगाडि

नेपाल उद्योग वाणिज्य महासङ्घको यस ५८ औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै उपस्थितिका लागि आभार व्यक्त गर्दछु ।  

म लगायत नयाँ कार्यकारिणी समितिले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको छ । म र यो कार्यसमिति मुलुकको निजी क्षेत्रेको यो छाता संस्थाको नेतृत्वमा आइरहँदा मुलुकको अर्थतन्त्र अप्ठेरो अवस्थामा थियो । 


मैले महासङ्घको नेतृत्व गर्नु पूर्व म एक्लै, अरू एक दुइ जना साथीभाइ र परिवारबाट सुरु भएको मेरो व्यवसायमा करिब २० हजारको परिवार बनेको छ । महासङ्घमा जोडिएसँगै करिब ६ लाख व्यवसायी सहितको परिवार बन्यो । हामीसँग विविध कारणले सदस्य नभएका वा हुन नपाएका व्यवसायी पनि यो परिवारका सदस्य हुन् । यसको अर्थ महासङ्घ परिवार सम्पूर्ण निजी क्षेत्रका सदस्यहरूको हो । 

हाम्रो वृहत् परिवार यो सिङ्गो मुलुक हो । निजी क्षेत्र यो वृहत परिवारको आय आर्जन गर्ने सदस्यहरू हुन् । हामी निजी क्षेत्र र सर्वसाधारणलाई आवश्यक सेवा र सुरक्षा दिन निर्माण भएको संरचना सरकार हो । सरकारले दिने सेवा र सुरक्षा विना हामी काम गर्न सक्दैनौ । हामीलाई सेवा र सुरक्षा दिए बापत हामी राज्यलाई कर बुझाउँछौँ । अहिले परिवारमा आम्दानी र खर्चबिच तालमेल मिलेको छैन । मुलुकको खर्च धान्ने निजी क्षेत्र पखेटा फिँजाएर थप आर्जन गर्न खोजिरहेको छ तर त्यसका लागि आवश्यक सेवा र सुरक्षा पाउन सकेको छैन । यो क्षेत्रले अहिले सरकारबाट थोरै मात्र भए पनि प्रोत्साहन चाहेको छ । 

म युवाहरूको सपनाको बारेमा कुरा गर्न चाहन्छु । म उद्यमशीलताको कुरा गर्न चाहन्छु । उद्यमशीलता एउटा कठिन तपस्या हो । कुनै पनि नयाँ काम गर्न नवीन सोच र आइडिया चाहिन्छ । त्यसलाई कार्यान्वयन गर्न रकम चाहिन्छ । यस्तो रकमको जोहो घरबार धितो राखेर नै गर्नुपर्छ । 

अब त्यो आइडियालाई समाजले स्वीकार गर्ने गरी तयार पार्नुपर्‍यो । राजनीतिक तहबाट त्यसलाई अपनत्व ग्रहण गरिदिनुपर्‍यो । कानुनी अड्चन हुनु भएन र वातावरणीय रूपमा दिगो हुनुपर्‍यो । यी सबै आधारभूत विषय पुरा गरेपछिमात्रै एउटा परियोजना वा व्यवसाय बन्छ । यति मिहिनेत गरेर तयार पारेको व्यवसाय वा परियोजना एउटा सरकारी नीति, एउटा अधिकारीको लहड अनि भीडले एकैछिनमा भताभुङ्ग पारिदिन सक्छ ।

तर यति हुँदा हुँदै पनि म आज यहाँ निराशा मात्र व्यक्त गर्न चाहन्न । म यो सम्भावना नै सम्भावना भएको मुलुकको रूपमा देख्छु । यी सम्भावनालाई यथार्थमा परिणत गर्न राजनीतिक नेतृत्वको भूमिकाको बारेमा पनि कुरा गर्छु । 

सम्भावना पहिल्याउन अहिलेको वास्तविक चित्रण आवश्यक छ । अहिले विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च छ । अर्थात करिब साढे १२ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त छ । बैङ्कहरूमा पनि तत्काल कर्जाका रूपमा दिन सकिने करिब ६ खर्ब रुपैयाँ छ । उद्यमी व्यवसायीले व्यवसाय विस्तार गर्न नसक्दा कर्जाको माग न्यून छ ।  

भुक्तानी सन्तुलन र चालु खाता समेत बचतमा हुँदा सकारात्मक सन्देश जान्छ । तर यस अवधिमा एक खर्ब रुपैयाँको निर्यात हुँदा ८० अर्ब रुपैयाँ त विद्यार्थीहरू विदेश जाँदा बाहिरिएको छ । नेपाल विश्व व्यापार सङ्गठनको सदस्य बने यता निर्यात तीन गुणासम्म बढेको छ भने आयात १० गुणा बढेको छ ।

वैदेशिक लगानी कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव २ प्रतिशत हाराहारी मात्रै छ । वैदेशिक अनुदान निरन्तर घट्दो छ । वित्तीय व्यवस्थापन खर्च पुँजीगत खर्च भन्दा झन्डै दोब्बर भएको छ । आन्तरिक स्रोत बढाउन सकिएन भने नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुँदै जाने क्रममा ऋणको भार थप बढ्ने सम्भावना देखिएको छ । 

निर्यात लगानी, सहायता सबै कम हुँदा पनि बाह्य क्षेत्र सबल हुनुको कारण रेमिट्यान्स हो । रेमिट्यान्स मात्रै मुलुक धान्न आधार बनेको दशकौँ भैसकेको त हामीलाई विदितै छ । 

रेमिट्यान्सले मात्रै निरन्तर अर्थतन्त्र धान्न सक्ने सम्भावना न्यून हुन्छ । विगतमा बढदो रेमिट्यान्सले माग बढाउँदा सरकारको राजश्व पनि बढेको थियो । राजश्व अपेक्षित रूपमा बढ्न सकेको छैन । न्यून पुँजीगत खर्च हुँदा पनि सरकार घाटामा रहनुले आगामी दिन थप जटिल हुने देखिन्छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरू

यी माथिका तथ्याङ्कहरू मैले हाम्रो अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा जानकारीका लागि प्रस्तुत गरेको हुँ । किनभने अर्थतन्त्रमा अझै समस्या छ भन्ने तथ्यलाई स्विकारेर मात्र यसको निकास खोज्न सजिलो हुन्छ भन्ने मलाई लाग्दछ । 

करिब दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान नगर्दा समस्या झन् बल्झिँदै गएको हो । निजी क्षेत्रले त रोगको पहिचान गरेरै बारम्बार औषधि सिफारिस गरेकै हो । यसमा राज्यको सम्बद्ध पक्षले ध्यान दिन नसक्दा हामी आज यो मोडमा आइपुगेका छौँ । यसपटकको बजेट र मौद्रिक नीतिमा निजी क्षेत्रको साझा सुझाव पेस हुँदा पनि सुधारका उपाय अवलम्बन हुन सकेनन् ।

श्रीलङ्का बन्न सक्ने भयले यहाँ नियन्त्रणमुखी नीतिगत व्यवस्था गरिए । यसबाट हाम्रो आर्थिक वृद्धि ६ प्रतिशतबाट २ प्रतिशतमा झरेको छ । भने यसै अवधिमा श्रीलङ्काको आर्थिक वृद्धि माइनस ७।८ प्रतिशतबाट करिब दुई प्रतिशत सकारात्मक भएको छ । 

नेपालको अर्थतन्त्र कमजोर हुनुमा बाह्य भन्दा आन्तरिक कारण नै प्रमुख हुन । किनभने यस अवधिमा भारत बङ्गलादेश लगायतका मुलुकको वृद्धिदर उच्च छ । विश्व बैङ्कले नेपालको आर्थिक वृद्धि चालु वर्षमा ३।३ प्रतिशत मात्र हुने अनुमान सार्वजनिक गरेको छ । जब कि बंगालादेशको ५।६ प्रतिशत र भारतको ७।५ प्रतिशत वृद्धि हुने प्रक्षेपण छ । गत वर्ष पनि नेपालको वृद्धि दुई प्रतिशत भन्दा कम हुँदा भारत र बंगलादेशको अर्थतन्त्र ६ प्रतिशत भन्दा बढिले विस्तार भएको थियो ।

भारतमात्रै होइन हाल निक्कै उच्च दरमा वृद्धि हासिल गरिरहेका बङ्गलादेश, क्याम्बोडिया, लाओस, रुवाण्डा र इथियोपिया जस्ता मुलुकको बिकासको मुख्य आधार निजी क्षेत्रले डोर्याएको वृद्धि नै हो । कुनै समयका द्धन्दग्रस्त र निक्कै गरिब मुलुकहरूको पछिल्लो एक दशकको औसत वृद्धिदर ६ प्रतिशत माथि छ । नेपालको भने औसत ४ प्रतिशत छ ।

पछिल्लो दुई वर्षमा न्यून आर्थिक वृद्धि हुनुको कारण निजी क्षेत्रले काम गर्न नपाउँदा हो । यस वर्ष पनि उत्पादनमुलक क्षेत्रको वृद्धिदर शून्य दशमलव ४ प्रतिशतले ऋणात्मक छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू, दलका प्रमुखज्यू लगायत उच्च नेतृत्व वर्ग । म व्यक्तिगत रूपमा हरेक क्षेत्र र प्रयासलाई सकारात्मक रूपमा हेर्ने व्यक्ति हुँ । मैले सकेसम्म होइन, छैन र हुँदैन भन्ने शब्द प्रयोग पनि गर्दिन । हामी आफैँमा सम्पन्न र सक्षम छौँ । हाम्रो अर्थतन्त्र सानो भएकाले रिकभर हुन सजिलो पनि छ । त्यसैले हाम्रा रणनीतिहरू कुनै बाहिरी प्रभाव भन्दा पनि हाम्रो माटो र हाम्रो स्थिति परिस्थिति सुहाउँदो हुनुपर्छ भन्ने मेरो धारणा हो । त्यसैले आज पनि म भन्छु, हामीले लिने साना तर सकारात्मक प्रयासहरूले पनि हामीलाई ठुलो प्रतिफल दिनेछन् । यसका लागि सबैको सकारात्मक सोच र सत्प्रयास आवश्यक छ ।  

 हाम्रा युवाहरूका सपना खाडीमा खेर जान नदिऔँ । उद्यमीको मोहरलाई रुपैयाँ बनाउने अवसर दियौँ । रित्तिएका पहाड र बस्तीको माटो हराभरा बन्न सक्छ । यसका लागि पनि नेपालको निजी क्षेत्रलाई थप हौसला प्रदान गर्नुपर्छ । हामी भूकम्पपछि कसरी उठ्यौँ रु अनि कोभिड पछि कसरी तङ्ग्रियौँ रु यी दुख बाट पनि हामीले प्रेरणा लिन सक्छौँ । मुलुकको निजी क्षेत्र विकास र समृद्धिको नेतृत्व लिन तयार छ, मात्र वातावरणको खाँचो छ ।

सबै मिलेर यही वातावरण निर्माण गरौँ र आजैदेखि अर्थतन्त्रलाई सबल बनाऔँ भनेर हामीले आजको यस गरिमामय सभामा यहाँहरू सामु पाँच बुँदे प्रतिवद्धतापत्र पेस गरेका छौ । यसमा हामी यहाँहरूको प्रतिबद्धताको अपेक्षा गरेका छौँ । 

अहिले निराशा र अविश्वास बढेका बेला यहाँहरूले यी प्रतिबद्धता जनाइदिनुभए मात्रै पनि सकारात्मक सन्देश जाने मैले अपेक्षा गरेको छु । यहाँहरू समक्ष यसका लागि हार्दिक अनुरोध गर्दछु । नेपाल उद्योग वाणिज्य महासङ्घले राख्दै आएको द्विपक्षीय लगानी सम्झौता बीआईए को खाका मन्त्रीपरिषद्बाट पारित भएको छ । म यसका लागि सम्माननीय प्रधानमन्त्री ज्यु प्रति आभार व्यक्त गर्दछु । अब छिट्टै नै हामीले सुधारका लागि तयार पारेको १२ कानुन एवं नियमावली पनि पारित हुने अपेक्षा गरेका छौ । 

आजको यस कार्यक्रममा मुलुकभरबाट करिब एक हजार भन्दा बढी उद्यमी व्यवसायी भेला भएका छौँ । व्यवसायी र आम सर्वसाधारणको मुहारमा मुस्कान छर्न राजनीतिक नेतृत्व र हामीले धेरै काम गर्नु । यो निराशालाई आशामा परिणत गर्नु । अबको दुई दिनपछि नयाँ वर्ष २०८१ सुरु हुँदै छ । सम्माननीय प्रधानमन्त्रीज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरू, नेतृत्व वर्ग नयाँ वर्षमा हामी व्यवसायीहरूले यहाँहरूबाट के सन्देश लिएर जाने अब यो यहाँहरूको हातमा छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिकोत्सवमा राखेको मन्तव्य

२ हप्ता अगाडि

प्रतिक्रिया