काठमाडौंमा पहिलोपटक साझाको ४० वटा विद्युतीय बस सञ्चालन

३ हप्ता अगाडि

काठमाडौँ- साझा यातायातले काठमाडौंमा उपत्यकाभित्र पहिलोपटक ४० वटा विद्युतीय बस सञ्चालन गरेको छ। मंगलबार उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले ४० वटा विद्युतीय बस र २४ वटा चार्जिङ पोइन्टको एकैसाथ औपचारिक उद्घाटन गरे।

साझाले ती बसहरू काठमाडौं उपत्यकाभित्र ‘सिटी बस’ का रूपमा सञ्चालन गर्न थालेको हो। विद्युतीय बस र चार्जिङ पोइन्ट रहेको चार्जिङ डिपो निर्माणको लागत ८५ करोड रूपैयाँभन्दा बढी रहेको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले बताए। ती बस उपत्यकाभित्र चल्नेछन्।

काठमाडौं उपत्यकाबाहिर भने अवस्था हेरिकन साझाले प्रदेश सेवाअन्तर्गत ठूला विद्युतीय बस खरिद गर्ने योजना बनाएको उनले बताए। ‘पहिलो चरणमा सिटी बसका रूपमा   ४० वटा बस उपत्यकाभित्र सञ्चालन गर्छौं। त्यसपछि उपत्यका बाहिर पनि बिजुली बस नै चलाउने चाहना हाम्रो छ’, उनले भने, ‘तर विद्युतीय बस चलाउन सडकको अवस्था विचार गरी बिजुली बस अथवा यूरो–६ मापदण्डको बस सेवा प्रस्तुत गर्ने लक्ष्य छ। त्यसका लागि हामीले प्रदेश सरकारसँग पनि सहकार्य गर्नेछौं।’ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा साझाले विद्युतीय बस चलाउन तीन अर्ब रूपैयाँ पाएको थियो तर बिजुली बस खरिदको अन्योल र चार्जिङ स्टेसन बनाउन चाहिने जग्गा उपलब्ध नभएकोे बताउँदै आएको थियो। साझा यातायात पुल्चोकको हाताभित्र रहेको भवनबाट नेपाल टेलिकम सारेपछि साझाले बिजुली बस पार्किङ र चार्जिङ स्टेसन राखेको हो।  

थप एक अर्ब लगानी गर्दै

साझा यातायातले दोस्रो चरणमा १२ मिटरका बिजुली बस खरिद गर्ने तयारी गरिरहेको छ। दुई महिनाभित्र त्यस्ता बस खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने योजना रहेको अध्यक्ष दीक्षितले बताए। ती बस खरिद गरेपछि आवश्यक पर्ने चार्जिङ स्टेसन तथा पूर्वाधारका लागि जग्गा अभाव हुने उनी बताउँछन्। ‘दोस्रो चरणमा हामीले दुई महिनाभित्रै १२ मिटरका बसहरूको खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दैछौं,’ उनले भने, ‘विद्युत् चार्जिङका लागि भने अन्य ठाउँ पाएका छैनौं।’ साझा यातायात सञ्चालक समितिले यसअघि नै बिजुली बस सञ्चालनका लागि सरकारले दिएको तीन अर्ब रकम तीन चरणमा खर्च गर्ने निर्णय गरेको थियो। ‘हाम्रा लागि विद्युतीय बस नयाँ प्रविधि भएकाले सरकारी लगानी एकैचोटी खर्च गर्दा कुनै गल्ती हुन सक्छ। त्यसकारण हामीले सरकारको तीन अर्ब लगानीलाई तीन भागमा छुट्याएर खर्च गर्ने योजना बनाएका छौं’, उनले भने। ती बिजुली बस नौ मिटरका छन् भने बसमा ५० जनासम्म यात्रु बस्न मिल्छ।

डिजेल–पेट्रोलको विस्थापन

साझा यातायातले मास ट्रान्सपोर्टेसनमा विद्युतीय परिवहन सेवा सुरु गरेसँगै नेपालमा उत्पादित विद्युत्को खपत बढ्ने भएको छ। मुलुकभित्र उत्पादित बिजुलीको खपत बढ्ने र यसले व्यापार घाटा कम गर्ने अपेक्षा गरिएको छ। हाल साझाले सञ्चालनमा ल्याएका २४ चार्जिङ पोइन्ट रहेको चार्जिङ डिपोमा १।१ मेगावाट बिजुली खपत भएको छ।
 

३ हप्ता अगाडि

प्रतिक्रिया