फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा कुल ८५ अर्ब ७० करोड ऋण प्रवाह

३ हप्ता अगाडि

काठमाडौं-  फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा कुल ८५ अर्ब ७० करोड ऋण प्रवाह भएको छ । सेयर धितोमा जाने मार्जिन प्रकृतिको कर्जा ८ महिनामा १२.३ प्रतिशतले बढेको हो ।

गत असार मसान्तसम्म यस्तो कर्जा ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ प्रवाह भएको थियो । ८ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा थप ९ अर्ब ३९ करोड २९ लाख रुपैयाँ प्रवाह भएको तथ्यांकले देखाउँछ । सेयर धितो कर्जा लिनेमा ठूला लगानीकर्ता बढी आक्रामक रहेको तथ्यांकले देखाउँछ । औसतभन्दा १ करोड माथिको कर्जा वृद्धिदर उच्च छ । ८ महिनामा औसत सेयर धितो कर्जा १२.३ प्रतिशतले बढ्दा १ करोड माथिको सेयर धितो कर्जा प्रवाह १७.४ प्रतिशतले बढेको छ । यो तथ्यांकले ठूला लगानीकर्ताले सेयर धितो कर्जा उच्च दरमा बढाएको देखिन्छ । माघ मसान्तसम्म १ करोडमाथिको सेयर धितो कर्जामा कुल ५२ अर्ब ४८ करोड ८४ लाख रुपैयाँ प्रवाह भएको छ । जबकि गत असार मसान्तसम्म १ करोडमाथिको कर्जा प्रवाह ४४ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ थियो ।

५० लाखदेखि १ करोडसम्मको सेयर धितो कर्जा १२ अर्ब १४ करोड ३४ लाख रुपैयाँ प्रवाह भएको छ । यो सीमाको कर्जा आठ महिनामा ३।१ प्रतिशतले मात्रै बढेको छ । त्यस्तै २५ देखि ५० लाखसम्मको सेयर धितो कर्जा प्रवाह ८ महिनामा ८.८ प्रतिशतले बढेर १३ अर्ब ९१ करोड ४ लाख पुगेको छ । २५ लाखमुनिको कर्जा प्रवाह भने जम्मा १.८ प्रतिशत मात्रै बढेको छ । यस्तो कर्जा माघ मसान्तसम्म कुल ७ अर्ब १५ करोड ९१ लाख रुपैयाँ प्रवाह भएको छ । हाल ५० लाखमुनिको सेयर धितो कर्जामा जोखिमभार १०० प्रतिशत कायम छ भने सोभन्दा माथिको कर्जामा १२५ प्रतिशत छ । उच्च जोखिमभारका वावजुत पनि ठूलो सेयर धितो कर्जा प्रवाह वृद्धिदर उच्च देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर कारोबारका लागि एक व्यक्तिले अधिकतम १५ करोड तथा संस्थाले २० करोड रुपैयाँ मात्रै कर्जा लिन पाउने व्यवस्था छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया