स्याउ फुलेर सेताम्मै

१ हप्ता अगाडि

काठमाडौँ - हिमाली जिल्ला जुम्लाको बगैँचाका स्याउ फुलेर सेताम्मे भएपछि जुम्लाको वातावरण रोमाञ्चक देखिएको छ।

जुम्ला स्वादिलो स्याउ पाइने जिल्लाका रुपले प्रख्यात छ। त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैंचाहरु फूल फुलेर सेताम्य भएका छन् । चैत–वैशाखमा स्याउ फुल्ने र स्याउ भदौमा पाक्ने गर्छ, जुन बेला बगैँचा राताम्मे देखिन्छन्। जुम्लामा स्याउ फल्न २०२२ सालदेखि सुरु भएको हो। २०२२ सालमा केही व्यक्तिले भारतको कस्मिरबाट स्याउका बिरुवा ल्याएर रोपेपछि सुरु भएको स्याउ खेती अहिले जिल्लाभरि फैलिएको छ। स्याउ खेती विस्तारका लागि तत्कालीन सरकारले पनि सघाएको थियो ।

२०३२ सालमा रानी ऐश्वर्यको जुम्ला भ्रमण भएपछि जुम्लाको चन्दननाथ नगरपालिका– १० (तत्कालीन कार्तिकस्वामी गाउँ पञ्चायत) को गैरागाउँँमा स्याउको वागबानी केन्द्र स्थापना भएको थियो। उक्त बागवानी केन्द्रमा २०३४ सालमा स्याउका बिरुवा उत्पादन गर्दै जिल्लाका केही स्थानमा किसानले नमुनाका रूपमा स्याउखेती सुरु गरेको जुम्लाको स्याउको इतिहास भेटिन्छ। जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकालगायत अन्य सातवटा गाउँपालिकाका र ६० वटै वडामा स्याउ खेती भइरहेको छ।

जुम्लामा गोेल्डेन डेलिसेस, रेड डेलिसेस, रोयल डेलिसेस, जोनाथान, कक्स ओरेन्ज टिपिन, म्याकन्ज,  इटालिएन फुजी र गालालगायत जातका स्याउ फल्ने गरेको कृषि विज्ञहरु बताउँछन् । जुम्लाको स्याउले काठमाडौँ, पोखरा, सुर्खेत, नेपालगन्ज, बुटवल, चितवनलगायत देशका ठूला सहरमा पनि आकर्षक बजार लिएको छ। जिल्ला कृषि विकास कार्यालयले ‘एक घर एक बगैंचा’ कार्यक्रम नीति लिएपछि बिरुवा वितरण, काँटछाँट र प्राविधिक सहयोग भइरहेको छ भने स्याउ खेतीको विकास भइरहेको छ।

१ हप्ता अगाडि

प्रतिक्रिया