नेपालमा लगानी बढाउन रुसको व्यावसायिक संस्थाहरूलाई आग्रह

१ हप्ता अगाडि

काठमाडौं-  नेपाल उद्योग परिसंघ र नेपालमा भ्रमणमा आएको रुसको व्यावसायिक संस्थाहरूबिच दुई पक्षीय हितका विषयमा छलफल भएको छ । आज बुधबार परिसंघ र रुसका उद्योग वाणिज्य संघहरूबिच भएको व्यावसायिक छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानी बढाउन आग्रह गरेका हुन् ।

लगानीका लागि नेपाल उर्बर भूमी रहेको र बजारका हिसाबले समेत विश्वका दुई ठुला मुलुकबिच रहेकाले नेपालमा लगानी गर्दा धेरै फाइदा लिन सकिने बताए । व्यावसायिक भ्रमणको नेतृत्व गरिरहेका रुस उद्योग वाणिज्य महासंघका अध्यक्ष सर्गेई कातरिनले देशको विकासका लागि निजी क्षेत्र सक्रिय हुन आवश्यक रहेको बताए ।

नेपालमा लगानीका लागि रुसका उद्योगी व्यवसायी तयार रहेको भन्दै उनले नेपालमा परिसंघसँग सहकार्य गर्दै केही न केही महत्त्वपूर्ण काम गर्ने बताए । दुई देशका व्यवसायीहरूलाई प्रोत्साहन गर्न सँगै काम गर्न तयार रहेको बताए । यसैबिच परिसंघ र रुसका तीन व्यावसायिक संस्थाबिच दुई पक्षीय हितका विषयमा काम गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । रुस उद्योग वाणिज्य महासंघ, सेन्ट पिटर्सवर्ग उद्योग वाणिज्य संघ र लिपिस्टिक उद्योग वाणिज्य संघसँग परिसंघको समझदारी भएको हो ।

समझदारी पत्रमा परिसंघका अध्यक्ष अग्रवाल, रुस उद्योग वाणिज्य महासंघका अध्यक्ष कातरिन, सेन्ट पिटर्सवर्ग उद्योग वाणिज्य संघका अध्यक्ष भ्लादिभिर कान्तेनेभ, लिपिस्टिक उद्योग वाणिज्य संघका अध्यक्ष आन्तेली गोस्ताभले हस्ताक्षर गरे । उक्त समझदारी पत्रमा हस्ताक्षर तथा व्यावसायिक छलफल कार्यक्रममा परिसंघका उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, राज बहादुर शाह, अमित मोर, भीम घिमिरे, राष्ट्रिय परिषद् सदस्यहरू छाया शर्मा, अमित बेगानी, मनिष खेम्का, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी छन् ।

१ हप्ता अगाडि

प्रतिक्रिया