कर्णाली राजमार्गमा रहेका स्याउका बगैँचा फूलले सेताम्मे

१ हप्ता अगाडि

काठमाडौँ- जुम्लाको स्याउ बगैँचा अहिले सेताम्मे भएका छन् । स्याउका बोटमा फूल लाग्न थालेपछि बगैँचो सेताम्मे भएका हुन् । कर्णाली राजमार्गमा रहेका स्याउका बगैँचा फूलले सेताम्मे भएपछि उक्त स्थान फोटो तथा भिडियो खिच्ने र थकाइ मार्ने थलो बनेका छन् ।

तिला गाउँपालिका–१ का एक स्याउ किसानले  स्याउ बगैँचा फूलेर सेताम्मे भएपछि आकर्षक देखिएको बताएका छन्। स्याउका बोटमा राम्रोसँग फूल लागेपछि उत्पादन पनि राम्रो हुने उनको अपेक्षा छ । जिल्लैभरका स्याउका बगैँचा सेताम्मे भएपछि यहाँको वातावरण आकर्षक देखिएको छ । चैत–वैशाख स्याउका बोटमा फुल लाग्ने याम हो । यो स्याउ भदौसम्म पाकिसक्छ । तिला–१ स्थित रारामा रहेको पातिहल्ला स्याउ बगैँचा समूहका सचिवले बगैँचालाई आवश्यक मलको उचित प्रयोगदेखि सिँचाइ व्यवस्थापनमा किसान लागेको बताए । सामूहिकरूपमा स्याउ बगैँचा गर्दा सम्बन्धित निकायबाट अनुदान लिन सहज भएको उनको भनाइ छ ।

पातिहल्ला स्याउ बगैँचामा करिब चार हजार स्याउका बिरुवा छन् । अहिलेसम्म दुई हजार बिरुवाले फल दिन थालिसकेका छन् भने एक वर्षभित्र सबै बिरुवाले फल दिने समूहका सचिवको भनाइ छ । जुम्लाका विभिन्न पालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ । माघदेखि स्याउ बिरुवाको रेखदेख, मलखाद व्यवस्थापनलगायतका काममा किसानलाई चटारो छ । स्याउका बिरुवा फुलेपछि बगैँचामा अधिकांश किसान सिँचाइ व्यवस्थापनमा लागेका छन् । स्याउ फुलेकाले यसवर्ष लटरम्म फल्ने आशा जुम्ली किसानको छ । जुम्लाकाका १८ हजार घरधुरीमध्ये करिब १६ हजार घरधुरी स्याउखेतीमा संलग्न छन् । कृषि विकास कार्यालयका अनुसार अहिले चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउखेती भइरहेको छ । कार्यालयका सूचना अधिकारी शेरबहादुर भण्डारीले जुम्लामा गोल्डेन, रेड, रोयल, जोनाथान र ओरेन्ज टिपिन, म्याकन्जलगायत जातका स्याउ उत्पादन हुने गरेको बताए ।

१ हप्ता अगाडि

प्रतिक्रिया