लगानी सम्मेलनमा भाग लिन यूएस चेम्बर अफ कमर्शका अतुल काठमाडौँमा

१ हप्ता अगाडि

काठमाडौं- यही वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनमा भाग लिन यूएस चेम्बर अफ कमर्शका दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल केशप काठमाडौँ आइपुगेका छन् । उनी बिहीबार काठमाडौँ ओर्लिएका हुन् ।

श्रीलंका र मालदिभ्सका लागि अमेरिकी पूर्वराजदूत तथा भारतका लागि अमेरिकी नियोग उपप्रमुखको भूमिका निर्वाह गरिसकेका अमेरिकाका पूर्वकूटनीतिज्ञ केशप यतिबेला यूएस चेम्बर अफ कमर्शमार्फत सक्रिय छन् ।

लामो समय दक्षिण एसियामा रही काम गरेका केशप यस क्षेत्रको अर्थतन्त्र, व्यापारलाई नजिकबाट नियालेका छन् । नेपालमा अमेरिकन चेम्बर अफ कमर्श स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका केशपले नेपालमा अमेरिकी लगानी भित्र्याउनका लागि पनि विभिन्न स्थान र समयमा पैरवी गर्दै आएका छन् ।

सन् २०२१ मा नेपालमा अमेरिकन चेम्बर अफ कमर्श (एमच्याम)स्थापना गर्दा र सन् २०२२ नोभेम्बरमा यूएस चेम्बर अफ कमर्शबाट मान्यता दिलाउनका लागि पनि उनको विशेष भूमिका रहेको अमेरिकन चेम्बर अफ कमर्श, नेपाल ९एमच्याम०का महाप्रबन्धक अमीरराज थापाको भनाइ छ ।

“एमच्याम स्थापनापछि नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन, अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र तत्कालीन परराष्ट्र  मन्त्री नारायणप्रकाश साउद (एनपी साउद) लाई साक्षी राखेर अमेरिकी चेम्बर अफ कमर्शबाट मान्यता दिलाउनेमा पनि उहाँको योगदान ठूलो थियो”, थापाले भने । उनले एमच्यामका लागि उक्त मान्यताले ठूलो अर्थ राख्ने बताए । उक्त मान्यताप्राप्तपछि एमच्यामका लागि विश्वका विभिन्न देशमा फैलिएको यूएस चेम्बर अफ कमर्शको नेटवर्कसम्मको पहुँचमा सहज मात्रै भएको छैन विश्वास पनि आर्जन भएको उनको भनाइ छ ।

थापा नेपालमा अमेरिकी लगानी भित्र्याउने सन्दर्भमा केशपले अमेरिका र विभिन्न नेटवर्कमार्फत गरिरहेको पैरवी निकै सकारात्मक भएको बताउँछन् । उहाँ जस्तो व्यक्तित्व लगानी सम्मेलनमा आउनु हाम्रा लागि खुसीको कुरा भएको उनले बताए । “एमच्यामलाई सुरुआतदेखि नै उहाँले सहयोग गरिरहनुभएको छ । लगानी सम्मेलनमा उहाँको सहभागिताले अमेरिकी लगानीकर्तामा राम्रो सन्देश जाने हाम्रो विश्वास छ”, थापाले भने ।

कूल २८ वर्ष अमेरिकी सरकारका लागि कूटनीतिमार्फत सेवा गरेका उनी त्यसक्रममा भारतसँगै मोरक्को र गिनीमा रहेर काम गरिसकेका छन् । हाल उनी अमेरिका९इन्डिया बिजनेस काउन्सिल र अमेरिका९बंगलादेश बिजनेश काउन्सिलका अध्यक्षका रुपमा समेत काम गरिरहेका छन् ।

केशपले यसअघि अमेरिकी सरकारका तर्फबाट दक्षिण एसियाका  ११ वटा देशमा अमेरिकी सम्बन्ध स्थापनाका लागि काम गरिसकेका छन् । उनले कोरोना महामारीको समयमा पूर्वी एसिया र प्यासिफिक क्षेत्रमा सम्बन्ध बिस्तारका लागि प्रिन्सिपल डेपुटी सहायक सचिवका रुपमा काम गरेका थिए ।

साथै अमेरिकी वरिष्ठ अधिकारीका रुपमा एसिया प्यासिफिक आर्थिक सहकार्यका का लागि दक्षिण एसियामा रही काम गरिसकेका छन् । उनले ब्यूरो अफ साउथ एण्ड सेन्ट्रल एसियन अफेयर्स, ब्यूरो अफ इन्टरनेशन अर्गनाइजेसन अपेयर्समा निर्देशकका रुपमा योगदान दिइसकेका छन् ।

कुटनीतिज्ञका रुपमा अमेरिका र भारतबीच सम्बन्ध बिस्तारमा पनि उनको ठूलो भूमिका  छ । साथै सिभिलियन न्यूक्लियर इनर्जी कोअपरेसनलाई टुंगोमा पुर्याउन, अमेरिका, भारत तथा जापानबीच त्रिपक्षीय सम्बन्ध बिस्तारका लागि पनि काम गरेको उनको अनुभव छ । उनले उच्च तहमा रही द्विपक्षीय र बहुपक्षीय सम्बन्ध बिस्तारका लागि यूरोपियन संघ, संयुक्त राष्ट्र संघ, असान, एपेक र इन्डो प्यासिफिक, मध्यपूर्व, अफ्रिका र उत्तर र दक्षिण अमेरिकाका विभिन्न निकायसँग काम गरिसकेका छन् ।

एमच्यामका महाप्रबन्धक थापा नेपालमा हाल कायम अमेरिकी लगानीको सुरक्षा गर्दै दिगो बनाउन र थप लगानी नेपाल ल्याउनका लागि केशपको भूमिका महत्वपूर्ण हुनसक्ने बताउँछन् । केशवले लगानी सम्मेलनमा वक्ताका रुपमा सहभागिता जनाउने छन् । उनले लगानी सम्मेलनमार्फत नेपालमा लगानीको वातावरण, सम्भावित क्षेत्रमा अमेरिकी लगानीको सम्भावनाबारे आफ्ना धारणा राख्नेछन् । उनको उपस्थितिले अमेरिकी चेम्बर अफ कमर्शमा आबद्ध विश्वका एक सय ३० भन्दा बढी संस्थामा आबद्ध लगानीकर्ताहरुमा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ ।

हालैका दिनमा अर्थमन्त्री वर्षमान पुन अमेरिका भ्रमणका क्रममा वासिङटन डिसीमा केशपले नै स्वागत गरेका थिए । उनले कोकाकोला, डिज्नी र मेटलाइफलगायतका प्रतिनिधिसँगको भेटका लागि सहजीकरण गरेका थिए । केशपलाई अमेरिकन च्याम्बर अफ कमर्स नेपालका अध्यक्ष निर्मल काजी श्रेष्ठ लगायतको टोलिले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थ्लमा स्वागत गरेका थिए ।

१ हप्ता अगाडि

प्रतिक्रिया