बाँकेमा व्यवसाय दर्ता तथा नवीकरण अभियान सुरु

१ हप्ता अगाडि

काठमाडौँ - बाँकेमा “खजुराको विकास र समृद्धिको आधार : दिगो र फराकिलो स्थानीय कराधार” मूल नारासाथ खजुरा गाउँपालिकाको आयोजनामा व्यवसाय दर्ता तथा नवीकरण अभियान २०८१ सुरु गरिएको छ ।

स्थानीय व्यवसायीलगायत सरोकारवाला पक्षको सहभागितामा खजुरा गाउँपालिका वडा १ बाट सो अभियानको सुरुवात गरिएको छ । सो अभियानको सुरु गर्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले गाउँपालिकाभित्र सञ्चालनमा रहेको तर पालिकामा व्यवसाय दर्ता नभएका उद्योग, व्यापार, व्यवसायलाई अनिवार्य व्यवसाय दर्ता गराई करको दायरामा ल्याउने र उद्यमी व्यवसायीहरूलाई समग्र गाउँपालिकाको विकासको प्रक्रियामा सहभागी गराउने उद्देश्यले यो अभियान सुरु गरिएको बताए । 

सो अवसरमा व्यवसायीलाई व्यवसाय दर्ता गर्ने, नवीकरण गर्ने र असल व्यवसायीको परिचय दिनुपर्ने लगायतका विषयमा छलफल भएको थियो । गाउँपालिका उपाध्यक्ष तथा स्थानीय राजस्व परामर्श समितिका संयोजक मञ्जु मल्लले गाउँपालिकाको आन्तरिक आयको एक प्रमुख र दिगो स्रोतको रूपमा व्यवसाय कर रहेकोले “व्यवसाय दर्ता अभियान २०८१” सञ्चालन गरिएको बताए। 

खजुरा गाउँपालिकाका राजस्व शाखा प्रमुख भक्तबहादुर रावतका अनुसार तीव्र सहरीकरणले गर्दा नयाँ बस्ती विस्तार हुँदै गएपछि गाउँपालिकामा पछिल्लो समय जनसङ्ख्या वृद्धि, उद्योग, व्यापार, व्यवसायको विकास र विस्तार तीव्र भएको भए पनि जुन अनुपातमा व्यापार व्यवसायको विस्तार भएको छ, त्यही अनुपातमा गाउँपालिकामा नयाँ व्यवसाय दर्ता हुन नसकेकाले दर्ता नभएका व्यवसायलाई दर्ता गराइ करको दायरामा ल्याउने उद्देश्यले दर्ता अभियान सञ्चालन गरिएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया