छ सय घरपरिवारलाई इन्डक्सन वितरण

२ हप्ता अगाडि

काठमाडौं- फलेवास नगरपालिका–२ थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो (इन्डक्सन) वितरण गरिएको छ।

प्रदूषणरहित भान्छा र धुवाँरहित गाउँघरको विकासका लागि रोटरी क्लब अफ पोखरा फिस्टेलको सहयोगमा वडाका सबै घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरिएको हो । थापाठानामा सात सय घरधुरी रहेका छन् । तीमध्ये झन्डै एक सय घरधुरी बसाइँसराइलगायत कारणले खाली छन् ।  मानिसको नियमित बसोबास रहेका सबै घरपरिवारलाई एक–एक थान इन्डक्सन चुल्हो वितरण गरिएको फलेवास–२ थापाठानाका वडाध्यक्ष गङ्गानारायण श्रेष्ठले जानकारी दिए। ग्रामीण सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको आयोजनामा भएको एक कार्यक्रमबीच रोटरी क्लब अफ पोखरा फिस्टेललगायत संस्थाको सहयोगमा विद्युतीय चुल्हो वितरण गरिएको हो।

सबै घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरिएसँगै वडा नं २ लाई प्रदूषण मुक्त भान्छासहितको वडा घोषणासमेत गरिएको छ । सामाजिक सेवामा सक्रिय रोटरी क्लबले विविध शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्ने सिलसिलामा थापाठाना गाउँमा विद्युतीय चुल्हो वितरण गरेको रोटरी क्लब अफ पोखरा फिस्टेलका डिष्ट्रिक गभर्नर नोमिनी विनोद कोइरालाले जानकारी दिए। उनले विभिन्न पाँच चरणमा विद्युतीय चुल्हो वितरण गरिएको बताए। चुल्होसँगै यसमा प्रयोग गर्न मिल्ने भाँडा पनि वितरण गरिएको हो। चुल्होसहित अन्य भान्छामा प्रयोग हुने सामग्री प्रतिपरिवारलाई रु १० हजार बराबर वितरण गरिएको कोइरालाले बताए। झन्डै रु ६० लाख मूल्य बराबरको लागतमा चुल्होसहितका सामग्री वितरण गरिएको हो ।

यो वडामा रहेका सात सय घरपरिवारमध्ये त्यहाँ निरन्तर बसोबास गर्ने छ सयजनालाई प्राथमिकतामा पारेर चुल्हो वितरण गरिएको उनको भनाइ छ । यो चुल्होको प्रयोगले गृहिणीहरुको स्वास्थ्य अवस्थामा सुधार आउनाका साथै गाउँ पनि पूर्ण रुपमा स्वच्छ हुने अपेक्षा गरिएको छ। त्यसैगरी, बढ्दो वन विनाश रोकिनाका साथै विद्युत्को खपतसमेत बढ्ने भएको छ।  चुल्हो वितरण कार्यक्रमसँगै वडा नं २ लाई प्रदूषणमुक्त घोषणा गर्दै नगरप्रमुख गङ्गाधर तिवारीले वडालाई प्रदूषणमुक्त वडा घोषणा गर्न सहयोग गरेकामा रोटरी क्लब अफ पोखरा फिस्टेललगायत दाताहरुको प्रशंसा गरे। उनले चुल्हो वितरण भएपछि अब गाउँ प्रदूषणमुक्त हुने र खासगरी भान्छाको काम गर्ने महिलाको स्वास्थ्य राम्रो हुँदै जाने विश्वास व्यक्त गर्नुभयो। आफूले पाएको चुल्होलाई भरपुर रुपमा प्रयोग गर्न उनको आग्रह छ।

२ हप्ता अगाडि

प्रतिक्रिया