राष्ट्रपति जेलेन्स्कीको हत्या गर्ने रुसी षड्यन्त्र विफल पारियो : किएभ

१ हप्ता अगाडि

काठमाडौं–युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तथा अरू उच्च पदस्थ अधिकारीहरूको हत्या गर्ने एउटा रुसी षड्यन्त्रलाई विफल तुल्याइएको युक्रेनी सेक्युरिटी सर्भिस (एसबीयू) ले जनाएको छ।

युक्रेनी सेनाको एउटा एकाइका दुईजना कर्णेललाई गिरफ्तार गरिएको छ।

गिरफ्तार गरिएकाहरू रुसी गुप्तचर निकाय (एफएसबी) सम्बद्ध एउटा सञ्जालका लागि जासुस भएका पाइएको एसबीयूले जनाएको छ।

एसबीयूका अनुसार ती दुईले जेलेन्स्कीका अङ्गरक्षकहरूमध्ये त्यस्ता व्यक्तिको खोजी गरिरहेका थिए जो उनको अपहरण तथा हत्या गर्नका निम्ति इच्छुक होऊन्।

बहालवाला कर्णेल नै जासुस
युक्रेनमाथि गरिएको पूर्ण स्तरको अतिक्रमणका शुरूवाती घण्टा तथा दिनहरूमा रुसी प्याराट्रुपरहरूले किएभमा ओर्लिन प्रयत्न गरेयता जेलेन्स्कीको हत्या प्रयासका षड्यन्त्रहरूबारे सुनिँदै आएको छ।

जेलेन्स्कीका अनुसार रुसी अतिक्रमणको शुरूवातताका उनी रुसको “एक नम्बरको निशाना” थिए।

तर पछिल्लो षड्यन्त्र बाँकीभन्दा फरक रहेको देखिएको छ।
षड्यन्त्रको हिस्सा भएको बताइएका कर्णेलहरू बहालवाला हुन् जसको जिम्मेवारी युक्रेनी अधिकारी एवं संस्थाहरूको सुरक्षा गर्नु रहेको छ। तर तिनै व्यक्तिलाई जासुसका रूपमा काममा लगाइएको बताइएको छ।

अरू पनि निशानामा थिए
एसबीयूका अनुसार उक्त षड्यन्त्रअन्तर्गत निशाना बनाउन खोजीएका अन्य व्यक्तिका सूचीमा युक्रेनको सैनिक जासुसी निकायका प्रमुख र सेक्युरिटी सर्भिसकै प्रमुख रहेका थिए।

उक्त समूहले मे ५ तारिखमै युक्रेनको सैनिक जासुसी निकायका प्रमुखलाई मार्ने योजना बनाएको थियो। त्यो दिन यो वर्षको अर्थोडक्स इशाईहरूको ईस्टर परेको थियो।

एसबीयूले बताएअनुसार षड्यन्त्रकारीहरूले उनको ठेगाना पत्ता लगाउनका निम्ति जासुस प्रयोग गर्ने योजना बनाएका थिए र आवश्यक सूचना पाएपछि रकेट, ड्रोन तथा एन्टी(ट्याङ्क ग्रिनेड प्रयोग गरी आक्रमण गर्ने योजनामा थिए।

दुवैजना कर्णेललाई राज्यद्रोह तथा आतङ्कवादसम्बन्धी अभियोगमा गिरफ्तार गरिएको अधिकारीहरूले बताएका छन्।

एसबीयूका प्रमुखले भनेका छन्, सफल भइदिएको भए पछिल्लो नियोजित आक्रमण “रुसी राष्ट्रपतिले अर्को कार्यकालका लागि शपथ लिनुअघि एउटा उपहार हुन्थ्यो होला।”

बिबिसी

१ हप्ता अगाडि

प्रतिक्रिया