सूर्यज्योति लाइफको ‘डाइनामिक क्यूआर’ सेवा सञ्चालनमा

१ हप्ता अगाडि

काठमाडौं-  सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ‘डाइनामिक क्यूआर’ सेवा सञ्चालनमा ल्याएको छ ।

आफ्नो प्रविधिमैत्री सेवाहरूलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरूका लागि सुविधायुक्त भुक्तानीको माध्यमका रूपमा कम्पनीले ‘डाइनामिक क्यूआर पेमेन्ट सिस्टम’ सञ्चालनमा ल्याएको बताएको छ ।

‘डाइनामिक क्यूआर पेमेन्ट सिस्टम’को उपयोगले बीमितहरूले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बीमालेख सुरक्षित तथा सहज तवरले भुक्तानी गर्न सक्नेछन् भने सो भुक्तानीको ‘नोटीफिकेशन’ र अन्य विवरण मोबाइल एपमार्फत हेर्न मिल्ने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ । ‘डाइनामिक क्यूआर पेमेन्ट सिस्टम’मा विभिन्न बैंकको नियमानुसार अधिकतम तीन लाख रूपैयाँसम्मको भुक्तानी गर्न मिल्ने सुविधा रहेको र फोन–पेको माध्यम प्रयोग गर्ने कुनै पनि बैंक, सहकारी वा कनेक्ट आईपीएस एपलगायत अन्य डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने छ ।

‘अरु क्षेत्रमा ‘डाइनामिक क्यूआर’ पहिलेदेखि नै प्रचलनमा भए पनि जीवन बीमाक्षेत्रमा भने यो नयाँ अभ्यास हो । हरेक ग्राहकका लागि फरक–फरक क्यूआर बन्ने र भुक्तानी गर्नासाथ आफैँ सिस्टममा अपडेट हुने यसको विशेषता हो,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश बिक्रम खत्रीले भने, ‘यस ‘डाइनामिक क्यूआर पेमेन्ट सिस्टम’को मद्दतले सेवाग्राहीहरूले घरमै बसी आफ्नो मोबाइल अथवा सूर्यज्योति लाइफको वेबसाइटमार्फत् आफ्नो विवरण भरेर ‘डाइनामिक क्यूआर’ प्राप्त गर्ने र सो ‘डाइनामिक क्यूआर’ स्क्यान गरी छिटोछरितो रूपले बीमाशुल्क भुक्तानी गर्न सक्नाका साथै भुक्तानीको विवरण सेवाग्राहीहरूले तुरुन्तै एसएमएसमार्फत प्राप्त गर्न सक्नुहुनेछ ।’ यो सुविधा लिन कम्पनीका बीमितहरूले देशभरि रहेका १७८ वटा शाखा कार्यालयहरू वा आफैंले घरमै बसेर सूर्यज्योति लाइफको वेबसाइटमा गई ‘सर्भिस अप्सन’मा गइ आफ्नो बीमालेख र पोलिसी नम्बर राखी सजिलै लिन सक्ने छन् ।

१ हप्ता अगाडि

प्रतिक्रिया