महासङ्घले प्रभावकारी भूमिका खेले विदेशी हस्तक्षेप रोकिन्छ : विज्ञ

शनिबार, ०५ जेठ २०८१, १५ : ००

काठमाडौँ - नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले प्रभावकारी भूमिका खेले नेपाली सुनचाँदी क्षेत्रमा विदेशी हस्तक्षेप रोकिने विज्ञहरूले बताएका छन् । महासङ्घको विज्ञ परिषद्को बैठकले सुनचाँदी हस्तकला क्षेत्रमा विदेशी हस्तक्षेप रोक्न आभूषण महासङ्घको भूमिका नै निर्णायक हुने भन्दै बाह्य हस्तक्षेप विरुद्ध प्रभावकारी कदम चाल्न महासङ्घलाई सुझाव दिएको हो ।

विदेशी हस्तकलाको बढ्दो प्रभावले नेपाली मौलिक कालिगढी लोप हुने अवस्थामा पुगेको विज्ञहरूको बुझाई छ । यसले नेपाली मौलिक हस्तकलाको पहिचान नै धरापमा परेकोले यसलाई जोगाउनुपर्नेमा विज्ञहरूको जोड थियो । यता, महासङ्घका अध्यक्ष किसान सुनुवारले मुलुकमा सुनचाँदी क्षेत्रका व्यवसायीका लागि सुहाउँदो ऐन कानुनको अभावले व्यवसाय गर्न कठिन भएको गुनासो गरे ।

ऐन कानुन नभएकाले वैध र अवैध व्यापार गर्ने दुवैलाई सरकारले एउटै नजरले हेर्ने गरेको गुनासो गर्दै अवैध व्यापारलाई राज्यले निरुत्साहित गर्नुपर्ने अध्यक्ष सुनारले बताए । मुलुकभर २३ हजारभन्दा बढी परिवार सुनचाँदी व्यवसायमा निर्भर भएको जिकिर गर्दै उनले राज्यले यसलाई विलासिताको क्षेत्रमा राखेकोमा आपत्ति समेत व्यक्त गरे । नेपालमा १० हजार भन्दा बढी दक्ष कालीगढ रहेको भन्दै उनीहरूलाई आफ्नो क्षमता दर्साउने प्रमाणपत्र लगायतका कागजात दिलाउनु अहिलेको आवश्यकता औँल्याइएको छ ।

शनिबार, ०५ जेठ २०८१, १५ : ००

प्रतिक्रिया