नौ महिनामा २ करोड विद्युतीय चुरोट आयात

आइतबार, ०६ जेठ २०८१, १३ : ५७

काठमाडौँ - चालु आर्थिक वर्षको ९ महिनामा २ करोड बढी रुपैयाँबराबरको विद्युतीय चुरोट (इलेक्ट्रिक सिगारेट भेप्स) नेपालमा आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०\८१ को साउनदेखि चैतसम्ममा २ करोड १७ लाख २५ हजार रुपैयाँबराबरको १ लाख ४५ हजार ७१ थान यस्तो विद्युतीय चुरोट नेपालमा आयात भएको हो ।

नेपालमा मुख्यगरी चीन, हङकङ, भारत, कोरिया, मलेसिया, युएई, क्यानाडा, जर्मनी, थाइल्याण्ड, युके र अमेरिकाबाट यस्तो चुरोट आयात हुने गरेको छ । परिमाणको हिसाव हेर्ने हो भने ९० प्रतिशतभन्दा बढी चीनबाट आयात हुन्छ । यो चुरोटलाई ई सिगरेट र वाष्प सिगरेट पनि भनिन्छ । यो सिगरेट विभिन्न आकारमा निर्माण गरिएको हुन्छ । यो विद्युतीय प्रणालीमा आधारित उपकरण हो । जसमा व्याट्री जडान भएको हुन्छ । यो उपकरणमा निकोटिन वा गैर निकोटिनको वाष्पीकृत हुने घोललाई श्वासको सहयोगमा चुरोट सेवन गरेजस्तै सेवन गरिन्छ । 

युवापुस्तामा  यसको लत बढेको छ । यसैबीच युवा पुस्ता र हुर्किदै गरेको नयाँ पुस्तामा यसको लत निक्कै बढेको पाइएकाले सरकारले विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रिया कार्यान्वयनका लागि विभिन्न मन्त्रालयलाई पत्राचार गरिएको हो । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २८ को उपदफा ४ मा ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री वितरण, सार्वजनिकस्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चारमाध्यमबाट प्रवद्र्धन तथा विज्ञापन गर्न पाइने छैन ।  

आइतबार, ०६ जेठ २०८१, १३ : ५७

प्रतिक्रिया