सरकारले १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै

सोमबार, ०७ जेठ २०८१, १३ : ४८

काठमाडौँ -  विकास ऋणपत्र बिक्रीका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले गत साता नै सूचना आह्वान गरेको थियो । सरकारले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको छ । जसअनुसार आज ऋणपत्र बिक्री हुनेछ । 

‘विकास ऋणपत्र २०८७ ‘ङ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ६ वर्ष छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

चालु आर्थिक वर्षमा राष्ट्र बैंकले ५५ अर्बको ट्रेजरी बिल, १ खर्ब ७९ अर्ब विकास ऋणपत्र ५ अर्बको नागरिक बचतपत्र र १ अर्बको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने भएको छ । चालु आवमा निष्कासन गर्ने आन्तरिक ऋणमा ट्रेजरी बिलको हिस्सा २२.९ प्रतिशत, विकास ऋणपत्रको हिस्सा ७४.६ प्रतिशत, नागरिक बचतपत्रको हिस्सा २.१ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रको हिस्सा ०.४ प्रतिशत रहेको आन्तरिक ऋणको तालिकामा उल्लेख छ । 

सोमबार, ०७ जेठ २०८१, १३ : ४८

प्रतिक्रिया