छ प्रतिशतले बढ्यो कैलालीमा आलु उत्पादन

बुधबार, ०९ जेठ २०८१, १० : ३०

काठमाडौँ- गत वर्षको तुलनामा यो वर्ष कैलालीमा आलु उत्पादन छ प्रतिशतले बढेको छ । जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्यामराज जोशीका अनुसार गत वर्ष चार हजार पाँच सय १२ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ६७ हजार सात सय ६० मेट्रिक टन आलु उत्पादन भएको थियो । यस वर्ष चार हजार पाँच सय ८० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ७२ हजार एक सय ३० मेट्रिक टन  उत्पादन भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष चार हजार तीन सय ७० मेट्रिक टन बढी आलु उत्पादन भएको तथा ६८ हेक्टर क्षेत्रफल वृद्धि भएको उनले जानकारी दिए । “यस वर्ष थोरै क्षेत्रफल पनि बढेको छ । आलु उत्पादनमा मौसमले पनि प्रभाव पार्छ । यसपटक हिउँदमा हुस्सु पनि लागेन”, उनले भने, “हुस्सुले आलुमा क्षति हुन्छ । मौसम पनि अनुकूल भयो । त्यसले पनि उत्पादन वृद्धि भएको हो ।”

“यसपटक धेरैजसो किसानले ‘चिप्स’ आलु लगाएका थिए”, उनले भने, “त्यसको उत्पादकत्व पनि बढी हुन्छ । त्यसले पनि उत्पादनमा वृद्धि भएको देखिन्छ ।” किसानको उत्पादन बढाउन, किसानलाई व्यावसायिक आलुखेतीमा पे्ररित गर्न किसानको मागअनुसार ज्ञान केन्द्रले बीउ, विषादी तथा उत्पादन सामग्री ५० प्रतिशत अनुदानमा दिँदै आएको सूचना अधिकारी जोशीले बताए । 

बुधबार, ०९ जेठ २०८१, १० : ३०

प्रतिक्रिया