१० महिनामा ३७४ साना उद्योग बन्द

३ हप्ता अगाडि

काठमाडौँ - मकवानपुरमा चालू आर्थिक वर्षको १० महिनामा ३७४ वटा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार यो अवधिमा उद्योगतर्फ एक सय ६७ र वाणिज्यतर्फका दुई सय सात उद्योगको लगत कट्टा भएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगको लगत कट्टा हुने सङ्ख्या बढेको हो । घरेलु तथा साना उद्योग कार्यालयमा चालू आवको १० महिनामा उद्योगतर्फ तीन सय २३ र वाणिज्यतर्फ दुई ९१ गरी छ सय १४ नयाँ उद्योग दर्ता भएको छन् । आव २०७९\८९ मा उद्योगतर्फ पाँच सय ७९ र वाणिज्यतर्फ चार सय ३० गरी एक हजार नौ उद्योग दर्ता भएको थिए ।

चालू आवमा उद्योगतर्फ ३३ वटा उद्योगको नामसारी, २४ वटा ठाउँसारी, नौ सय ३४ वटा नवीकरण, चार सय ५१ वटाको पुँजी वृद्धि, ६७ वटाको प्रतिलिपि, एक सय ६७ वटाको लगत कट्टा तथा २८ वटाको उद्देश्य थप गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, लगत कट्टालगायत शीर्षकबाट यस अवधिमा दुई करोड ६३ लाख २२ हजार तीन सय ५२ रुपैयाँ राजस्व सङ्कलन भएको छ । 
 

३ हप्ता अगाडि

प्रतिक्रिया