१० महिनामा रु ९८ अर्ब सार्वजनिक ऋण थपियो

शनिबार, १२ जेठ २०८१, १६ : ०९

काठमाडौँ - चालु आर्थिक वर्षको १० महिनामा रु ९८ अर्ब ऋण थपिएको छ । भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । 

चालु आर्थिक वर्ष २०८०\८१ को सुरुमा कूल सार्वजनिक ऋण रु २२ खर्ब ९९ अर्ब रहेकामा २०८१ वैशाख मसान्तसम्ममा रु ९८ अर्ब आठ करोड थप प्राप्त भई कूल ऋण रु २३ खर्ब ९७ अर्ब रहेको छ ।  चैत महिनाको तुलनामा कूल सार्वजनिक ऋण रु ११ अर्ब ६४ करोड थप भएको छ । गत वैशाख मसान्तसम्मको कूल सरकारी ऋणमा आन्तरिक ऋणको दायित्व रु ११ खर्ब ८४ अर्ब ४८ करोड बराबर रहेको छ । यो अवधिसम्मको आन्तरिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन ९जीपिडी० को २० दशमलव ७६ प्रतिशत प्रतिशत बराबर हो ।

त्यस्तै बाह्य ऋण दायित्व रु १२ खर्ब १२ अर्ब ९५ करोड बराबर पुगेको छ । जिडिपी अनुपातमा बाह्य ऋणको दायित्व २१ दशमलव २६ प्रतिशत बराबर हो ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारले कूल रु दुई खर्ब ६४ अर्ब ६३ करोड बराबर ऋण उठाउँदा रु एक खर्ब ६६ अर्ब ५५ करोड ४४ लाख बराबर साँवा ब्याज भुक्तानी गरेको छ । यो अवधिमा सरकारले उठाएको ऋणमध्ये आन्तरिक ऋण रु एक खर्ब ९१ अर्ब र बाह्य ऋण रु ७३ अर्ब ६३ करोड बराबर हो । 

शनिबार, १२ जेठ २०८१, १६ : ०९

प्रतिक्रिया