जिदानको व्यंग्य– ‘हामीसँग ३३ ला लिगा उपाधि छन्, बार्सिलोनासँग कति ?’

५ बर्ष अगाडि

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना जारी सिजन उपाधि नजिक पुगेको छ । उसलाई जितका अब मात्रै ३ अंक आवश्यक छ । यदि बुधबार राति एथ्लेटिको मड्रिड आफ्नो खेलमा भ्यालेन्सियासँग पराजित भए बार्सिलोनाले अन्तिम ४ खेलअघि नै उपाधि जित्नेछ ।

२ वर्षअघिको लिग विजेता रियल मड्रिड भने यो सिजन लिगमा बार्सिलोनाभन्दा १६ अंकले पछि छ । यसको अर्थ, रियल उपाधि होडबाट यसअघि नै आउट भइसकेको छ । ऊ यतिबेला लिगको दोस्रो स्थानका लागि संघर्ष गरिरहेको छ ।

यसैक्रममा हालसालै रियलमा दोस्रोपटक प्रशिक्षक बनेर आएका जिनेदिन जिदानले भने अझै पनि आफूहरू बार्सिलोनाभन्दा बलियो स्थितिमा रहेको बताएका छन् । उनले ला लिगा आफूहरूको प्राथमिकतामा नपरेको भन्ने कुराको खन्डन गर्दै यस्तो बताएका हुन् ।

‘ला लिगा ज्यादै महत्त्वपूर्ण छ । यो सधैंको उद्देश्य हो,’ मिडियासँग उनले भने, ‘अर्को सिजन हाम्रा लागि मुख्य प्राथमिकतामध्येमा यो पनि पर्नेछ ।’

पछिल्लो दशक बार्सिलोना लिगमा हाबी भइरहेको विषयमा सोधिएको प्रश्नमा फ्रेन्च कोचले व्यंग्यात्मक उत्तर दिए ‘हामीसँग ३३ ला लिगा उपाधि छन् । बार्सिलोनासँग कति छन् ?,’ उनले भने, ‘यो सत्य हो कि, पछिल्ला वर्ष उनीहरूले राम्रो गरिरहेका छन्, हामी त्यसलाई मान्छौं । तर, हामीसँग उसका भन्दा धेरै उपाधि छन् । र, मेरा लागि प्रतिस्पर्धा गर्न यो महत्त्वपूर्ण उपाधि हो ।’

ला लिगाको इतिहासमा हालसम्म सर्वाधिक धेरै उपाधि रियलले ३३ पटक जितेको छ । तर, बार्सिलोनाले भने हालसम्म मात्रै २५ पटक जितेको छ । यसपटक जित्दा बार्सिलोनाको ला लिगा संख्या २६ हुन्छ । तैपनि, रियल बार्सिलोनाभन्दा ७ उपाधिले अघि नै हुनेछ ।

यता, युरोपियन च्याम्पियन्स लिगमा पनि रियल बार्सिलोनाभन्दा दोब्बरले अघि छ । युरोपको सबैभन्दा ठूलो प्रतियोगिता बार्सिलोनाले हालसम्म जम्मा ५ पटक मात्रै जितेको छ भने रियलले कीर्तिमनी १३ पटक जितेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया