काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत तीन सहरलाई आर्थिक गतिविधिको केन्द्रका रूपमा अघि बढाउने योजना अघि सारेको बताएका छन् । बजेटपछिको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पुनले चितवन, पोखरा र लुम्बिनीलाई आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जानकारी दिए ।
उनले चितवन, पोखरा र लुम्बिनीलाई त्रिभुज आकारमा विकास गरेर आर्थिक गतिविधि अघि बढाउने बताए । पोखरा, चितवन र लुम्बिनी नै पर्यटकीय क्षेत्रका रुपमा परिचित छन् । चितवनमा जङ्गल सफारी र ‘वाइल्डलाइफ’को प्रचुर सम्भावना छ ।
यस्तै पोखरालाई नेपाल सरकारले पर्यटकीय नगरीहरूको राजधानी नै घोषणा गरिसकेको छ । नेपाल घुम्न आउने पर्यटक कम्तीमा एक पटक पोखरा पुग्ने लक्ष्य नै तय गर्छन् । पोखरा पुगेर हिमालको दृश्य, फेवाताल लगायतका दृश्य हेर्न सकिन्छ । यसबाहेक लुम्बिनी गौतम बुद्धको जन्मस्थलका रुपमा रहेको छ ।
यो विश्वभरका बौद्ध धर्मवालम्बीहरुको आस्थाको केन्द्रका रुपमा छ । यी तीन क्षेत्रको सडक पूर्वाधारलाई विस्तार गरेर अघि बढाउने र राजमार्गका आसपास औद्योगिक गतिविधि र आर्थिक गतिविधि अघि बढाउँदै आर्थिक गतिविधिको केन्द्रका रुपमा विकास गर्ने अर्थमन्त्री पुनले बताए ।
प्रतिक्रिया